काठमाडौँ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आँगनमा यत्रतत्र कोरोना संक्रमित छन्। बेड खाली हुने प्रतिक्षमा मुखमा अक्सिजन पाइप लगाएर पल्टिएका छन् कोरोना संक्रमित।
अस्पतालको कोभिड वार्ड छिर्ने ढोकामा राखिएका बेड मात्र होइन, बेञ्चसमेत कोरोना संक्रमितले भरिभराउ छन् । अस्पतालभित्र ओहोरदोहोर गर्ने बाटोको दायाँबायाँ बेड राखेर बिरामीको उपचार चलिरहेको छ।
अस्पतालका चिकित्सक डा श्रवण कुमार मण्डलका अनुसार ५ बेडको आकस्मिक कक्षमा २५ बेड राखिएको छ।
त्यतिले पनि नपुगेर अस्पतालको करिडोर र ग्यालरीमा राखिएका बेडसमेत भरिएका छन् । बिरामी कुरुवाका लागि राखिएका बेञ्चमा समेत संक्रमित राख्नु परेको छ।
शुक्रबार मध्याह्न, कोभिड वार्डको ग्यालरीमा राखिएका बेडमा अक्सिजनको भरमा शास फेरिरहेका कोरोना संक्रमित ढल्किएका छन्। त्यही ग्यालरीमा रहेको बेड नं २५ मा अक्सिजन लगाइएका एक जना बृद्ध घोप्टो परेर पल्टिएका छन्।
बेड नं २५ मै कुहिना टेकाएर स्टुलमा टुक्रुक्क बसेका छन् एक युवक। मास्क, फेसशिल्ड लगाएका युवकले हातमा सेतो पञ्जा पनि लगाएका छन्। झट्ट हेर्दा ति युवक बिरामी कुरुवा हुन् की जस्तो लाग्छ।
तर, उनी आफैँ कोरोना संक्रमित हुन्। उनी आफैँ अक्सिजनको साहारा आवश्यक परेर अस्पताल आएका हुन्। कोरोना संक्रमणले उनको फोक्सोमा निमोनिया भइसकेको छ।
स्टुलमै बसेर उपचार खोजिरहेका यी युवा हुन् दाङ, शान्तिनगरका २५ वर्षे नविन शर्मा । उनलाई २१ वैशाखमा कोरोना संक्रमण देखियो। २२ वैशाखसम्म कीर्तिपुरस्थित कोठामा ‘आइसोलेट’ भएर बसेका उनी २२ वैशाखकै राति स्वास फेर्न गाह्रो भएपछि २३ वैशाखमा टेकु अस्पताल आइपुगे।
‘तारन्तार खोकी लाग्न थाल्यो । स्वास फेर्नै गाह्रो भएपछि अस्पताल आएँ,’ उनी सुनाउँछन्, ‘यहाँ आएर पनि बेड पाइएन, बाहिरै बस्नुपर्यो ।’ २३ वैशाखदेखि उनी अस्पतालमै छन् ।
तर, २३ वैशाखमा अस्पतालका सबै बेड भरिभराउ थिए। ग्यालरी, प्यासेजका बेञ्चसमेत खाली थिएनन्। स्वास फेर्न अक्सिजन नभइ नहुने भएपछि स्वास्थ्यकर्मीले उनलाई आकस्मिक कक्षको बाहिर राखिएको बेञ्चमा राखेर अक्सिजन दिए। अक्सिजन पाएपछि राहतको लामो सास फेरे उनले। ‘अक्सिजन लगाएपछि हलुको भयो,’ उनले भने ।
अस्पतालको पिँढीमा अक्सिजनको सहारामा रात बिताएपछि २४ वैशाखको दिउँसो उनले अस्पताल भित्र छिर्न पाए। २४ वैशाख १२ बजेतिर उनलाई अस्पतालको ग्यालरीमा राखिएको बेड नं २५ मा राखियो। ‘बेड पाएपछि अब त बाँचिन्छ जस्तो लागेको थियो,’ उनी सुनाउँछन् । स्वास फेर्न सहज होस भनेर अक्सिजन पाइप पनि लगाइयो ।
१२ बजेदेखि २ बजेसम्म उनी बेड नं २५ मा अक्सिजनको सहारामै थिए । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दैनिक संक्रमित हुने र मर्नेको संख्या बढिरहँदा अस्पताल आउने बिरामीको संख्या पनि बढिरहेको छ।
स्वास्थ्य अवस्था जटिल भएका संक्रिमितलाई अस्पतालले बेड नभए पनि अक्सिजन दिएर, बेञ्चमा, स्टुलमा, पिँढीमा राखिरहेको छ । शर्मालाई बेडमा राखिएको केही बेरमै कोरोना संक्रमित भएका ५५ वर्षे पुरुष खोक्दै, लडखडाउँदै आइपुगे।
अहिले जुन स्टुलमा शर्मा बसिरहेका छन्, स्वास्थ्यकर्मीले ति पुरुषलाई त्यही स्टुलमा राखे । आफ्नै अगाडिको स्टुलमै बिरामी राखिएपछि शर्माले बेडबाटै टाउको उठाएर हेरे ।
‘उहाँ त यो करिडोर नै हल्लिने गरि खोकिरहनु भएको थियो,’ बिरामीको हाल सुनाउँछन् शर्माले भने । कंलकीबाट आएका ति पुरुष स्टुलमा बस्न नसकेर अस्पतालको चिसो भुइमै थचारिए ।
अस्पतालको चिसो भुइमा परेपछि उनी झनै छटपटाउन थाले । भुइमा छटपटाइरहेका बृद्ध देखेपछि शर्माको मन पग्लियो । ‘उहाँ भुइमा पल्टिरहनु भएको थियो,’ शर्मा सुनाउँछन्, ‘स्वास फेर्न नसकेर घाँटीबाट चरचर आवाज आइरहेको थियो, खोकी पनि उस्तै चर्को थियो ।’
बुढा मान्छेको बेहाल देखेपछि उनलाई के गरौँ, कसो गरौँ भयो। त्यसपछि उनले आफ्नै जीवन दाउमा राख्ने कठोर निर्णय लिए। भुइमा छटपटाइरहेका बृद्धलाई शर्माले आफूले पाएको बेडमा राखे। आफूले लगाइरहेको अक्सिजन खोलेर बृद्धको मुखमा लगाइदिए । बेड र अक्सिजनको हाहाकार मच्चिरहेको यो संकटको घडीमा आफूले पाएको बेड र अक्सिजन दिए शर्माले।
‘मलाई भन्दा उहाँलाई बढी गाह्रो भएको देखेँ,’ कुहिनो टेकाएको बेडमा ज्यान ढल्काउँदै शर्मा भन्छन्, ‘उहाँको छटपटाहट देख्नै सकिन । सहनै सकिन ।’ शर्मा आफैँ स्टुलमा सिधा बस्न सकिरहेका छैनन् । उनी आफैँले अडिनका लागि बेड र स्टुलको सहारा लिनु परिरहेको छ। केहीबेर अघिसम्म उनी आफैँ अक्सिजनको सहारामा थिए ।
२४ वैशाखमा भक्तपुर इन्टरनेसनल अस्पतालमा अक्सिजन अभावमा दुई जना कोरोना संक्रमितको ज्यान गयो । बृद्धलाई जोगाउन भन्दै शर्माले आफ्नो बेड र अक्सिजन दिए । तर, उनलाई थाह छैन आफ्नो अवस्था के हुन्छ भनेर ।
शर्मालाई संक्रमणले स्वास फेर्न नै मुस्किल बनाएको छ । खोकी पनि चर्को छ । त्यसमाथि उनी स्टुलमा बसेका छन्। ‘कुनै न कुनै बेड त खाली होला नि,’ शर्मा आश मान्दै भन्छन् । उनलाई थाह छ अस्पतालमा सहजै बेड पाइदैन। उनले पनि त एक दिन एक रात पर्खिनु परेको थियो बेड पाउन ।
‘म आफूलाई भने केही बेर भए पनि अक्सिजन र बेड नहुँदा पनि धान्न सक्छु जस्तो लाग्यो,’ शर्मा सुनाउँछन्, ‘तर, उहाँले त धान्न सक्नुहुन्न जस्तो लाग्यो ।’
शिलापत्र डटकमको सहयोगमा तयार पारिएको सामाग्री
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
