काठमाडौं । काठमाडौं उपत्यकामा आज (विहीवार) विहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्टका संक्रमित तीव्र रुपमा बढ्दै गएपछि उपत्यकाका तीनै जिल्ला प्रमुख जिल्ला अधिकारीको वैठकले विहीवारदेखि एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकले बढाएर दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
पहाडी र हिमाली जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी भयो भने र शहरी तथा काठमाडौंमा ५०० भन्दा बढी सक्रिय पुगे भने प्रमुख जिल्ला अधिकारीले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को सल्लाहमा निषेधाज्ञा जारी गर्न सक्ने प्रावधान छ ।
संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तीमा १० देखि १४ दिन चाहिने भएकोले सरकारले दुई साताको निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताएका छन् । काठमाडौं उपत्यकामा आज १६ वैशाखबाट शुरू हुने निषेधाज्ञा कम्तीमा दुई साता रहने छ।
यसअघि १२ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रूपन्देही, पर्सा, कास्की, सुर्खेत, चितवन र पाल्पामा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ।
निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ?
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखानालगायत सञ्चालन गर्न पाइ“दैन ।
विवाह व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहभागी (दुलाहादुलहीसहितका)ले ब्यानरसहितका दुईवटासम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर सो कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट जारी पास लिनुपर्नेछ ।
विवाह÷व्रतबन्धमा सहभागी भई अन्यत्र जिल्लाबाट फर्कनुपर्ने भए चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेस गर्नुपर्नेछ।
अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था दूरसञ्चार, इन्टरनेट, क्वारेटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापनलगायत ढुवानीका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
