काठमाडौँ । के तपाई पनि मोटर गाडी र हवाई जहाजमा यात्रा गर्दा रिँगटा लाग्ने, वाकवाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनुहुन्छ ?
सामान्य बोलीचालीको भाषामा यस्तो समस्यालाई गाडी लाग्नु भनिन्छ। यसलाई चिकित्सकीय भाषामा भने मोसन सिकनेस भनिन्छ । यो सामान्य समस्या भए पनि धेरैलाई सताइरहने समस्या हो।
चिकित्सकहरूका अनुसार यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना आउने, रिँगटा लाग्ने र वान्तासम्म हुने भएकाले व्यक्तिलाई कमजोर एवं आलस्य बनाउँछ ।
त्यसैले यात्राका बेला गाडी लाग्ने अर्थात मोसन सिकनेसको समस्या छ भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न चिकित्सकको सुझाब छ ।
गाडी लाग्नु भनेको व्यक्ति विशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरको इन्द्रियहरु आँखा कान आदिले सन्तुलित ढंगबाट आआफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।
मोसन सिकनेसबाट बच्ने तरिकाः
पहिलो कुरा त मानसिक रूपमा नै तयार हुनुपर्छ बान्ता हुन्छ की रिंगाटा लाग्छ की भन्ने जस्ता कुराहरू मनमा लिएर बस्नु हुँदैन। यस्तै गाडीमा बसेको बेला सीधा हेर्ने गरे यो समस्या कम हुन्छ।
आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ । गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात मोसन सिकनेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ। गाडि लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन वा जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्छ।
त्यस्तै हावा आउने गरी झ्यालपट्टीको सिटमा बस्ने प्रयास गर्नुपर्छ । कतिपयलाई ब्रेक तेल अथवा डिजेलको गन्ध मन नपर्ने पनि हुनसक्छ।
त्यसैले गाडि रोकेको अवस्थामा बाहिर निस्केर फ्रेस हावा लिनु पनि उपयुक्त हुन्छ । हाजमोला कागति यस्तै हलुका अमिलो पिरो मिश्रित पाउ खाँदा पनि बान्ता हुँदैन । खालीपेट यात्रा गर्नु पनि हुँदैन। चकटलेट खाँदा पनि राम्रो हुन्छ।
कसलाई हुन्छ मोसन सिकनेस ?
हुन त यो समस्याले सबै उमेर समूहका मानिसहरूलाई सताइरहेको हुन्छ। त्यसमा पनि खास गरी दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन्।
महिलालाई पनि बढी मोसन सिकनेस हुने गर्दछ। गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात मोसन सिकनेस हुन्छ। माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिकनेस हुने गर्दछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
