भोलिदेखि दोस्रो चरणको खोप लगाइँदै, प्राथमिकतामा दूतावास, यूएनका कर्मचारी र पत्रकार

काठमाडौँ । सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ।

दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

Advertisement

उनकाअनुसार काठमाडौँको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ।

प्रवक्ता गौतमकाअनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ ।

उनीहरूलाई भोलिदेखि शुक्रवारसम्म खोप लगाइसक्ने मन्त्रालयको तयारी छ। खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ।

खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ। यसबाहेक अरु समूहका व्यक्तिलाई पनि खोप लगाउनेबारे आज छलफल गरेर निर्णय गर्ने तयारी भइरहेको प्रवक्ता गौतमको भनाइ छ।

गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन्। सबैभन्दा धेरै खोप वाग्मती प्रदेशमा ६३ हजार ३ सय ८ जनालाई खोप लगाइएको मन्त्रालयले जनाएको छ।

भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोजअन्तर्गत खोप अभियान सुरु भएको हो।

More News last news
Loading...