काठमाडौँ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको दोस्रो दिन बिहीबार २८ हजार जनाभन्दा धेरैले खोप लगाएका छन्। बिहीबार ७७ जिल्लाका खोप केन्द्रबाट २८ हजार सात सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहीवार खोप लगाउनेमध्ये प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई हजार एक सय ७४, वाग्मती प्रदेशमा ११ हजार चार सय ६१ र गण्डकी प्रदेशमा चार हजार आठ सय ५३ जना रहेका छन्।
यस्तै लुम्बिनी प्रदेशमा दुई हजार तीन सय तीन, कर्णालीमा एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार चार सय १७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म खोप लगाएका व्यक्तिहरूमा कुनै किसिमको स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। खोप अभियानको पहिलो दिन बुधवार १२ हजारभन्दा धेरैले खोप लगाएका थिए।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप सरकारले केही दिनअघि ल्याएको थियो। आउँदो १० दिनभित्र चार लाख ३० हजार जनालाई पहिलो चरणको खोप दिने सरकारको योजना रहेको छ।
पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अरु कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
