कर्णाली सरकार ओली पक्षविहीन

सुर्खेत । ओली समूहका दुई मन्त्री दाहाल–नेपाल पक्षमा लागेपछि कर्णालीको सिंगो मन्त्रिपरिषद् ओली पक्षविहीन भएको छ। मुख्यमन्त्रीसहित सबै मन्त्री दाहाल–नेपाल पक्षमा खुलेका हुन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै ‘कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नका लागि’ दाहाल–नेपाल पक्षको नेकपामा आबद्ध रहेको बताएका छन्।

Advertisement

डोल्पाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले आइतबार कित्ता परिवर्तन गर्ने बताए पनि अन्तिम समयमा पछि हटेका थिए ।

उक्त दिन ओली पक्षीय सामाजिक विकासमन्त्री दल रावल र जुम्लाबाट प्रदेशसभामा निर्वाचित पदम रोकाया भने दाहाल–नेपाल पक्षमा प्रवेश गरेका थिए। ओलीको साथ छाड्ने तीनै जना पूर्वएमालेबाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

२०७४ फागुनमा सरकार गठन हुँदा ७ सदस्यीय मन्त्रिपरिषद्मा पूर्वमाओवादीबाट मुख्यमन्त्रीसहित ३ जना, ओली समूहबाट ३ जना र नेपाल समूहबाट १ जना मन्त्री नियुक्त भएका थिए ।

ओली समूहबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका खड्कबहादुर खत्री २०७६ साउनमा नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हालिरहेका छन्।

अब ४० सदस्यीय कर्णाली प्रदेशसभामा दाहाल–नेपाल समूहका सांसदको संख्या २२ पुगेको छ । सभामुखलाई छाडेर ओली समूहका १०, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् ।

यही अवस्थामा अविश्वासको प्रस्ताव दर्ता भइहाले कांग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन । अविश्वासको प्रस्ताव पास हुन २१ सांसदको आवश्यकता पर्छ ।

More News last news
Loading...