स्थानीय तहमा ४०० आधारभूत अस्पताल बनाउन स्रोत सुनिश्चित

काठमाडौँ । सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ अस्पतालका लागि स्रोत सुनिश्चित गरेको छ।

उक्त स्रोतबाट स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुनेछन्।

Advertisement

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि रु ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार बराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएका छन्।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले पाँचदेखि १५ श्ययाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए।

यसरी कायम हुने रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानका रुपमा उपलब्ध गराइनेछ।

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ।

अर्थमन्त्री पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिनाअघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रमअनुसार यही मङ्सिर १५ गते भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ।

More News last news
Loading...