बीबीसी । रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ।
रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई यो जानकारी दिएका हुन्।
यसै साता मस्कोमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा आरडीआईएफले नेपालको एउटा निजी कम्पनी ट्रिनिटी फर्मास्युटिकल्ससँग अढाइ करोड रुसी खोप आपूर्ति गर्ने सहमति गरेको उल्लेख गरिएको थियो।
त्यसबारे आफूहरू बेखबर रहेको नेपाली अधिकारीहरूले प्रतिक्रिया दिएपछि विगतमा खासै नाम नसुनिएको स्वास्थ्य सामग्री सम्बन्धी थोक विक्रेताले रुसको निकायसँग भएको सहमतिबारे बिहीवार सरकारलाई जानकारी गराएको छ।
त्यसबारे शुक्रवार नेपाल सरकारले हालसम्म संसारमा कतैपनि प्रभावकारी खोप पत्ता लागि सकेको स्थिति नभएको भन्दै खोप पत्ता लागेपछि आफैँले नेपाली जनताका निम्ति ल्याउने स्पष्ट पारेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङमा भने, “खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउँछ। कुनै निजी कम्पनीले बाहिर सम्झौता गरेको भन्ने हल्लाहरू पनि आएका छन्। यी हल्लाहरूको पछि नपर्न सम्पूर्ण सम्बन्धितलाई म अनुरोध गर्दछु।”
स्पुत्निक नामक उक्त रुसी खोपको परीक्षण नेपालमा गराउनेबारे विगतमा उच्च सरकारी अधिकारीहरूलाई रुसी राजदूतले भेटेर कुराकानी गरेका विवरण आएका थिए।
तर पछिल्लो सम्झौताबारे राजदूतावासको औपचारिक धारणा लिने बीबीसीको प्रयासमा कुनै जवाफ आएको छैन।
नेपाललाई खोप आपूर्ति गर्ने भनिएको निकायको भनाइ के छ ?
बीबीसी नेपालीलाई दिएको प्रतिक्रियामा आरडीआईएफले रूसको काठमाण्डूस्थित राजदूतावासले यो सम्झौता कार्यान्वयनका लागि सहयोग गर्ने उल्लेख गरेको छ।
आरडीआईएफका प्रवक्ता आर्सेनी पालागीनले भनेका छन्, “यो सम्झौतालाई नेपालस्थित रुसी राजदूतावासको समर्थन प्राप्त रहेको छ। राजदूतावासले तथ्याङ्क उपलब्ध गराउन र अधिकारीहरूसँग संवाद गर्न मद्दत गर्नेछ।”
रुसले आन्तरिक रूपमा प्रयोगका लागि स्वीकृत गरेको भनिएको उक्त खोप हाल उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी सहितलाई उपलब्ध भइसकेको आरडीआईएफले जनाएको छ।
उक्त निकायले यसै साता हाल ४० हजार जनामा खोपको परीक्षण भइरहेको र त्यसको परिणाम अक्टोबर वा नोभेम्बर महिनाभित्रै आउने उल्लेख गरेको थियो।
नेपाली थोक बिक्रेता को हो ?
अधिकारीहरूले ट्रिनिटी फर्मास्युटीकल खासै नाम नचलेको तर विगत केही वर्ष देखि औषधि व्यवस्था विभागमा औषधिको थोक विक्रेताका रूपमा सूचिकृत रहेको जनाएका छन्।
विभागका महानिर्देशक नारायणप्रसाद ढकाल भन्छन् “त्यो फर्मास्युटिकल यहाँ थोक बिक्रेताको रुपमा सूचिकृत छ। स्पुत्निक खोपको कम्पनीबारे भने हाम्रोमा अभिलेख छैन्।
स्पुत्निक खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ भनेर बिहिवार हामीलाई निवेदन मार्फत् जानकारी गराइएको छ। यदि यहाँको प्रक्रिया अनुसार भयो भने हामी अनुमति लिन आउँछौँ भनेर ट्रिनिटीले जानकारी दिएको छ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)