बाग्मतीमा मुख्यमन्त्री फेरिने चर्चा, होला त बानियाँ ‘आउट’ लामा ‘इन’ !

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा शुरु भएको छ । गत साउन २० गते मुख्यमन्त्री बनेका इन्द्र बहादुर बानियाँलाई हटाएर बहादुर सिंह लामालाई पुनः मुख्यमन्त्री बनाउने तयारी थालिएको चर्चा शुरु भएको हो ।

गत साउनमा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा तत्कालीन मुख्यमन्त्री लामालाई हटाएर बानियाँलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो । गत भदौंमा जेनजी आन्दोलन पश्चात फेरिएको राजनीतिक समीकरण र नेपाली कांग्रेसको बिशेष महाधिवेशनले आधिकारिता पाइसकेको अवस्थामा बिशेष महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका लामालाई मुख्यमन्त्री बनाउने गरी तयारी थालिएको स्रोतले बतायो ।

Advertisement

विगतमा मुख्यमन्त्री रहेका लामालाई जसरी पदबाट हटाउन भूमिका खेले, अहिले त्यसरी नै लामाले बानियाँलाई हटाएर मुख्यमन्त्री आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसका लागि लामाले नेपाली कांग्रेस केन्द्रीय स्तरका नेताहरु समक्ष लबिङ शुरु गरिसकेका छन् । हाल मुख्यमन्त्री रहेका बानियाँ देउवा निकटका हुन्, भने लामाले हालको संस्थापन गगन थापा समूहका विश्वासिला पात्र मानिन्छन् ।

हाल कांग्रेसको ३७ सांसद र सत्ता साझेदार दल नेकपा एमालेको २७ गरी ६४ जना सांसदको समर्थनसहित बानियाँ मुख्यमन्त्री चयन भएका थिए । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्दछ । सात वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेश सभामा कांग्रेसको ३७ सांसद, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेमकिपाको ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

गत वैशाख २१ गते मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा समेत मारेको थियो । अवैध रूपमा सम्पत्ति आर्जन गरेर लुकाएको उजुरीपछि विभागले अनुसन्धानका लागि निर्माण कम्पनीको कार्यालयमा सोमबार छापा मारेको हो । स्रोतका अनुसार विवादास्पद व्यापारी दीपक भट्ट पक्राउ परेपछि उनीसँग निकट मानिएका र शंकास्पद कारोबार गरेका व्यक्तिहरूमाथि विभागले अनुसन्धान तीव्र बनाएको हो ।

बानियाँको पनि विवादास्पद व्यापारीहरुसँगको कनेक्सन भएको आशंकामा उनीमाथी आशंका गरिएको हो । यसबारेमा अनुसन्धान जारी छ । यसरी विवादमा तानिएको भन्दै उनलाई मुख्यमन्त्रीबाट बर्खास्त गर्न सहज हुने बताईएको छ ।

More News last news
Loading...