काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ।
शनिबार राति साढे ८ बजेदेखि रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसेको थियो। सभापति रवि लामिछानेले आवश्यक परेमा आइतबार संसदमा नगईकन बैठकमा सहभागी हुने बताएका छन्।
आजको बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल भएको र सांसद् तथा केन्द्रीय सदस्यले बोल्नेक्रम नसकिएकाले भोलि ११ बजेका लागि बैठक बोलाइएको प्रवक्त तथा महामन्त्री मुकुल ढकालले नयाँ पुस्तालाई बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको समय दिएको थियो । शनिबार उक्त समय सकिएपछि रास्वपाले सरकारमा रहने वा छाड्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो।
आइतबार प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ । रास्वपा सांसदहरुले पार्टीको बैठक सकेर संसद बैठकमा सहभागी हुने बताएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
