पोखरा । लेखनाथस्थित पचभैया क्षेत्रका स्थानीय वासीले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै साङ्केतिक रूपमा बाटो नै बन्द गरिदिएका छन् ।
पूर्व मन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडक स्थानीयले साङ्केतिक विरोध स्वरूप बन्द गरिदिएका हुन् । उनीहरूले सोमबार बिहान आधा घण्टा बाटोमा गाडी हिँड्न रोकिदिए।
पटक पटक सडक मर्मतका लागि सरोकारवाला निकायलाई घचघच्याउँदा समेत सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य दामोदरभक्त थापाले बताए ।
‘भन्नुपर्ने ठाउँमा भनिसक्यौँ । कोही नेता र कर्मचारी छैनन् भन्न बाँकी,’ उनले भने, ‘कसैले सुनेनन् । बाटो बन्द गर्नुको विकल्प भएन । अझै सुनुवाइ नभए थप कार्यक्रम गर्छौँ ।’
निर्वाचनका बेला बजेट दिन नमिल्ने भनेपछि स्थानीयले नै पैसा उठाएर खाल्डा टालेका थिए । चुनाव जितेपछि पनि कुनै सुनुवाइ नभएको थापाले बताए ।
यो बाटो कास्कीको बेगनास तालबाट लमजुङको भोर्लेटार छिचोल्ने सबैभन्दा छोटो दूरीको बाटो हो । त्यहाँको करिब ८ किलोमिटर बाटो निकै साँघुरो र बढी खाल्डाखुल्डी भएकोले मर्मतका लागि आग्रह गरिएको स्थानीयहरूले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
