बुटवल । स्थानीय तहको निर्वाचन लड्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले बनाएको आचारसंहिताप्रति स्थानीय तहका जनप्रतिनिधिले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले यो मापदण्ड कानुनविपरीत रहेको बताएका छन् भने केही जनप्रतिनिधिले यो सही भएको बताएका छन्।
आचारसंहिताको यो मापदण्डलाई सच्याउन केही जनप्रतिनिधिले माग गरेका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन लड्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको थियो ।
आयोगले यस्तो मापदण्ड बनाएपछि प्रतिक्रिया दिंदै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यस्तो मापदण्ड बनाउने हो भने संघीय र प्रदेश निर्वाचनमा पनि लागू गर्नुपर्ने बताए । ‘तीन तहको निर्वाचनमा विभेदकारी मापदण्ड हुनुहुँदैन, यसलाई सच्याउनुपर्छ’, उनले भने।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले भने यो मापदण्ड सही रहेको प्रतिक्रिया दिए । ‘यसले पदमा रहेर मतदातालाई प्रभावित पार्न सक्ने प्रवृत्ति रोक्छ, त्यसैले आचारसंहिताको यो मापदण्ड सही छ’, उनले भने ।
सिद्धार्थ नगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले भने निर्वाचन आयोगले बनाएको आचारसंहिता कानुनसँग बाझिएको बताए । कानुनले जनप्रतिनिधिविहीन स्थानीय तह परिकल्पना नगरेकाले आचारसंहिता कानुनविपरीत रहेको अधिकारीको भनाइ छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले भने आचारसंहिता आयोगले आफ्नो विवेकसम्मत ढंगले बनाएकाले टिप्पणी गर्नुको अर्थ नरहेको बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
