काठमाडौं l सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्ण पौडेलका अनुसार १३ हजार ५४९ पीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र ६ हजार ८१० एन्टिजेन परीक्षण गर्दा दुई हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै बुधबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोना संक्रमणमुक्त हुँदा पाँच जना संक्रमितले ज्यान गुमाएको डा. पौडेलले जानकारी दिए । बुधबार २५ लाख ६ हजार ४१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना घरमै (होम आइसोलेसन) मा स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेको पौडेलले बताए । उनका अनुसार २५१ जना सघन उपाचार कक्ष (आइसीयू) मा र ४८ जना भेन्टिलेटरमा उपचाररत रहेको निर्देशक पौडेलले जनाए । संस्थागत क्वारेन्टाइनमा १ सय ७१ रहेको छ ।
निर्देशक पौडेलले पहिलो र दोस्रो लहरको तुलनामा आईसीयू र भेन्टिलेटर कम प्रयोग गर्नु परे पनि संक्रमण दर बढी रहेको बताए । हाल परीक्षणको आधारमा ४० प्रतिशतभन्दा बढी संक्रमित दर रहेको उनले बताए ।
संक्रमण फैलिरहेकोले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरी आफू र अरुलाई संक्रमणबाट जोगाउन उनले अनुरोध गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
