काठमाडौँ । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो।
यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो।
१७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र १० हजार २५८ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ। हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन्।
काठमाडौँ उपत्यकामा माघ मसान्तसम्म आमसभा, जुलुसमा रोक
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म आमसभा, जुलुस, भेला, गोष्ठीलगायतमा रोक लगाएका छन् । तीनै जिल्लाले मंगलबार दिउँसो एकै प्रकृतिको आदेश जारी गर्दै नरम खालको लकडाउनको निर्णय गरेका हुन्।
‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, काठमाडौँ जिल्ला प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, ललितपुर र भक्तपुरले कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरेको छ। उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा अस्थायी रोक लगाइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
