न्युयोर्क । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी कोभिड संक्रमित थपिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण फैलिएसँगै कोभिड संक्रमित बढेका हुन्।
सोमबार एकै दिन १० लाख ८० हजार संक्रमित थपिएको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ। युनिभर्सिटीका अनुसार संक्रमितमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ।
संक्रमण फैलिए पनि अमेरिकामा विद्यालय, कलकारखाना र कार्यलय पहिलाजस्तै सञ्चालनमा छन्। पछिल्ला दिनमा कोभिडका कारण अस्पताल भर्ना हुनेको संख्या भने केही बढेको छ।
नेपालमा २४ घण्टामा ३९३ जना संक्रमित
नेपालमा पनि पछिल्ला केही दिनयता कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ। यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार २१६ जनामा र सोमबार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । (न्यूज कारखाना)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
