गठबन्धनको निस्कर्षः राष्ट्रिय सभामा कांग्रेसलाई ६ सिट, अन्य कुन दललाई कति ?

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। राष्ट्रियसभा निर्वाचनमा बागबण्डा मिलाउन बसेको बैठकले भागबण्डाको विषय टुंग्याएको हो।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याइएको छ। मनोनीततर्फ एक जनामा भने कसलाई पठाउने भन्नेबारे सहमति नभएको खनालले बताए।

Advertisement

राष्ट्रिय सभामा ५९ सदस्यीय छ भने ती सदस्यको कार्यकाल छ वर्षको हुनेछ तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो। त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिँदैछ । अर्का दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ।

ती १९ पदमा हाल नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्य छन् । राष्ट्रियसभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यसपटक सातै प्रदेशमा एक महिलासहित २–२ जना, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट दलित १–१ जना तथा प्रदेश १ र कर्णाली प्रदेशबाट अपाङ्गता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदैछ।

राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम आयोगले १२ माघमा निर्वाचन गर्ने मिति तोकेको छ ।

यो निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेशसभा सदस्यहरू ५३२, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जना मतदाता छन्। आयोगका अनुसार सात प्रदेशमा मतदानस्थल समेत तोकिसकिएको छ।

More News last news
Loading...