काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि हुने दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी प्रकाशमान सिंहले प्रधानमन्त्री तथा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने हुनु भएको छ ।
कांग्रेस सभापतिका लागि पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले बहुमत नल्याएपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याएका उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुँदैछ।
गृहमन्त्री बालकृष्ण खाँण र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर मंगलबार बिहान सभापतिका प्रत्यासी सिंहलाई भेट्न सिंह निवास चाक्सीबारीमा पुगेका थिए । खाँणले सिंहलाई मिलेर अघि बढ्ने र पार्टीलाई सशक्त बनाउने प्रस्ताव राखे ।
त्यो प्रस्ताव सुनेपछि सिंहले आफूले आफ्ना टिमका साथीहरूसँग छलफल गरेर देउवालाई समर्थन गर्ने बताएका थिए । खाँणको प्रस्तावमा सिंह सकारात्मक भएपछि देउवा सिंह निवास चाक्सीबारीमा पुगेर सहमति गरेका हुन् । सहमति पछि सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने पत्रकारहरूमाझ बताइसकेका छन् ।
पहिलो चरणको सभापतिको निर्वाचनमा देउवाले दुई हजार दुई सय ५८, डा. शेखर कोइरालाले एक हजार सात सय २९, सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत ल्याएका थिए । हिजो भएको मतदानमा चार हजार ६ सय ७९ मत खसेको थियो । त्यसमा ७७ मत बदर भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
