एनआरएनए चुनाव अनिश्चित, प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा

काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भएको छ । दशौं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो।

गैर आवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनमा देखिएको चरम अनियमितताको कारणले प्रमुख निर्वाचन आयुक्त पौडेलले राजीनामा दिएका हुन् । पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा पत्र बुझाएपनि भित्री कारण भने संघ भित्रको विवाद नै हो।

Advertisement

वर्तमान परिस्थितिमा मैले काम गर्न सक्ने अवस्था रहेन, पौडेलले भने, मेरो व्यक्तिगत कारण र संघभित्रको विवादले अवस्था सहज देखिएन । प्रमुख निर्वाचन आयुक्त पौडेलले नाम मात्रको चुनाव गराउन संभव रहे पनि वास्तविक चुनाव गराउन भने सहज नभएको बताए।

स्रोतका अनुसार कुमार पन्त नेतृत्वको वर्तमान कामचलाउ कार्य समितिले निर्वाचन समितिलाई उपलब्ध गराएको मतदाता नामावलीविरुद्ध कैयौं उजुरी परेको र ती उजुरीमाथि छानबिन गर्न पाउने अवस्था नरहेपछि पौडेलले पदबाट नै राजीनामा दिएका हुन् । विधान विपरीत चयन भएका भनिएका प्रतिनिधिहरुको नामावलीसमेत मतदाता सूचीमा समावेश गर्न दबाब परेपछि पौडेल निर्वाचन समितिबाट बाहिरिएका हुन् ।

नेपाल बार एसोसियसनका महासचिव पनि रहेका पौडेलले संघमा सुनियोजित रुपमा धांधली गर्ने योजनालाई कार्यान्वयन गर्न आफूलाई माध्यम बनाउन लागिएको समितिकै सदस्यहरुलाई बताएका थिए। निर्वाचन कार्यतालिका अनुसार शुक्रबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्नुपर्ने थियो।

भने शनिबार अर्थात डिसेम्बर ११ मा उम्मेदवारी दर्ताको कार्यतालिका थियो । पौडेलले राजीनामा दिएपछि मतदाताको अन्तिम नामावली प्रकाशन हुन सकेन भने निर्वाचनका बाँकी तालिका पनि प्रभावित भएका छन् ।

पन्त नेतृत्वको कार्यसमितिले विना कुनै सहमति जबर्जस्ती चुनावको कार्यक्रमलाई अगाडि बढाउन दबाब दिएपछि निर्वाचन समितिका बहुसंख्यक सदस्यहरुले राजीनामा गर्न लागेको विश्वस्त सूत्रले जानकारी दिएको छ।

समितिका सदस्यहरुको पनि राजीनामा

प्रमुख निर्वाचन आयुक्त पौडेलले राजीनामा दिएपछि निर्वाचन समितिका अन्य सदस्यहरुले पनि राजीनामा दिन थालेका छन्। पौडेल लगत्तै निर्वाचन आयुक्त डा। गणेश गुरुङले निर्वाचन समितिको सदस्य पदबाट राजीनामा दिएका छन्।

संघको विधान अनुसार निर्वाचन हुनु भन्दा कम्तीमा ३ महिना अगावै निर्वाचन समिति गठन गरिनु पर्छ। त्यसैले अब डिसेम्बर २६ र २७ मा गराउने भनिएको निर्वाचन गराउन कुनै पनि वैधानिक आधार बांकी नरहेको निर्वाचन समितिका एक सदस्यले बताए। सात सदस्यीय निर्वाचन समितिका अन्य सदस्यहरुले पनि राजीनामा दिने तयारी गरिरहेका छन् ।

गैरआवासीय नेपाली संघको दशौं महाधिवेशन गत अक्टोबरमा नै हुनुपर्ने थियो । अक्टोबर २० मा चुनावको हुने तय गरिएको थियो भने त्यसलगत्तै विश्वसम्मेलन हुने भनिएको थियो । तर महाधिवेशन प्रतिनिधि चयनमा विधान विपरीतका क्रियाकलाप भएको भन्दै उजुरी परेपछि महाधिवेशन तथा निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

सरकारले विधान बमोजिम विवाद समाधान गरी नयाँ निर्वाचन तथा महाधिवेशन गराउन डा।शेष घले नेतृत्वको संरक्षक परिषदलाई जिम्मेवारी दिएपनि काम चलाउ समितिका अध्यक्ष कुमार पन्तले उच्च अदालत पाटनमा मुद्दा दायर गरी अदालतको आदेश भन्दै आफूखुसी चुनाव गराउन निर्वाचन समितिलाई दबाब दिएका थिए । निर्वाचन समितिले पनि हात झिकेपछि अध्यक्ष पन्त थप दबाबमा परेका छन्।

More News last news
Loading...