काठमाडौँ । सरकारले अघिल्लो सरकारले नियुक्त गरेको सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
‘मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ,’मन्त्री कार्कीले भने। सरकारको निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालगायत अन्य देशमा नियुक्त भएका राजदूतहरु फिर्ता हुनेछन्।
परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति
सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लगायतको उपस्थिति रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
