काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन बुधबारदेखि प्रारम्भ हुँदैछ । अधिवेशनको पहिलो बैठक अपराह्न ४ बजे बस्ने छ ।
मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै साउन ३ गतेबाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो ।
विचाराधीन विधेयकलगायतका ‘बिजनेस’ नै अगाडि बढाउन सक्ने अवस्था नरहेपछि अधिवेशन चाँडै अन्त्य गरिएको थियो । अन्त्यपछि फेरिएको राजनीतिक परिदृश्यसँगै सरकारले पुनः अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।
सङ्घीय संसद्को अबको अधिवेशनमा विचाराधीन विधेयक र केही महत्त्वपूर्ण सम्झौतामा निर्णय लिनुपर्ने अवस्था छ । प्रतिनिधिसभा विघटनपछि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पनि प्रतिस्थापन हुन सकेको छैन ।
अध्यादेश जारीपछि अधिवेशन बसेको साउन ३ गतेको मितिले ६० दिनभित्र बजेटसहितका १३ अध्यादेश प्रतिस्थापन भइसक्नुपर्ने छ तर अघिल्लो अधिवेशनमा पेस भई स्वीकृतसमेत भएका छैनन् ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बजेटसहितका १३ अध्यादेश स्वीकृतिका लागि बुधबारको पहिलो बैठकमा नै पेस गरिने बताए। अध्यादेश स्वीकृतको प्रस्तावलाई संसद् सचिवालयले सम्भावित कार्यसूचीमा समेत प्रकाशन गरिसकेको छ ।
अधिवेशन प्रारम्भ हुने पहिलो बैठकमा यसअघि अधिवेशन नभएको समयमा ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेशसमेत पेस हुनेछ । सो अध्यादेश गृहमन्त्रीका तर्फबाट पेस हुनेछ । आफ्नो दल विभाजन गर्ने उद्देश्यबाट दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले) ले चर्को विरोध जनाउँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
