काठमाडौं । लामो समयदेखि विवादमा रहेको सत्तारुढ दल नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको छ। काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको हो।
सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो।
नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय सीमा तोकिएकोमा ढिलो गरी समितिले सोमबार बेलुकी मात्रै प्रतिवेदन बुझाएको हो।
यसअघिको छानविन समितिले अधिकांश जिल्लाको विवाद समाधान गरे पनि बारा, सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतमा भने समाधान गर्न सकेको थिएन। जसको लागि सिटौला नेतृत्वको नयाँ समिति गठन गरेर विवाद समाधानको जिम्मा दिइएको थियो।
काँग्रेसको १४औँ महाधिवेसन कार्यतालिका अन्तर्गत यहि भदौ १८ गते वडा अधिवेसनको कार्यतालिका रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
