क्यान्सर के हो ? क्यान्सर लागेको कसरी थाहा पाउने ?

काठमाडौँ । क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन्। समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो।

क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा आविश अधिकारीसँग कुराकानी गरेको कुराकानीः

Advertisement

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो। जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ। यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ। अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ। नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन्।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ। ती कोषहरूले हाम्रो शरीर बनाउँछन। जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन्। त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन्।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ्। यसलाई फैलिएको क्यान्सर भनिन्छ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन्। अनि क्यान्सर हुन्छ। ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन्। हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो। बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन्। केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन्। यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ। अरु लक्षणहरु यस्ता छन्ः

कमजोरी हुने र तौल घट्ने

शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने

छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने

मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने

खाना निल्दा दुख्ने र स्वर फेरिने

सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने

लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने

कारण पत्ता नलागेको ज्वरो आइरहने

दिसामा रगत देखिने हुन्छ

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?

यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ:

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने

पान सुपारीहरु नखाने

अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने

अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने

सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने।

अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ। एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने

आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने

क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन्। त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ।

More News last news
Loading...