असोजसम्म एक करोड ५ लाख खोप आउँदै, तेस्रो लहर असोज १५ पछि आउने आशंका

काठमाडौं । सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ। प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिए।

उनका अनुसार सरकारले आफैं खरिद गरी ल्याउने प्रक्रियामा रहेकोे, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रममार्फत उक्त परिमाणको खोप ल्याउन लागिएको हो।

Advertisement

सरकारले चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ।

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आज समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने जानकारी दिए।

उनका अनुसार कोभ्याक्स कार्यक्रममार्फत निःशुल्क २० प्रतिशत अर्थात एक करोड १३ लाख मात्रा र कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा र बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ।

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ।

यसका लागि दुई मात्रा खोपका हिसावले कूल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने सचिव अर्यालले जानकारी दिए।

उनका अनुसार आउँदो असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको छ।

अब बालबालिकाका लागि पनि खोप आउने

महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए। उनका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ।

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...