काठमाडौँ । सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार) देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए।
मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख डा झलक शर्मा गौतमले बताए।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद सम्झौता भएको मध्ये ८ लाख खोप शुक्रबार काठमाडौँ आएसँगै सरकारले खोप अभिायन सञ्चालन गर्न लागेको हो।
सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन किस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत बाँकी खोप ल्याउने सरकारको योजना छ।
खोपको उपलब्धता बढेसँगै खोप अभियान कार्यक्रमलाई निरन्तरता दिइने र अन्य प्रदेशमा पनि छिट्टै खोप कार्यक्रम सञ्चालन हुने डा पौडेलले जानकारी दिए।
खोप भण्डारण शाखा प्रमुख बडेबाबु थापाका अनुसार लुम्बिनी प्रदेशका लागि १ लाख १४ हजार र गण्डकी प्रदेशका लागि १ लाख १२ हजार खोप पठाइसकिएको छ। यसैगरी बागमती प्रदेशको मकवानपुर, सिन्धुली र चितवनका लागि ८२ हजार डोज खोप हेटौंडा पठाइएको उनले बताए।
डा पौडेलका अनुसार भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथिका उमेर समूहका खोप लगाउन बाँकी रहेका नागरिकलाई दिइने छ।
विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने उनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
