काठमाडौँ । पाचन प्रणालीमा गडबडी भएर खाना नपच्नुलाई अपच भन्ने गरिन्छ। कहिलेकाही मानिसहरुलाई खाना अपच भएर समस्या हुन्छ।
यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन। यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ। यस्तो समस्या भएमा यस्ता घरेलु उपायहरु अपनाउनुहोस्।
अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ। खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ।
पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।
बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।
हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
