नेपालमा पनि भेटियो कोरोना निको भएकालाई कालो ढुसी, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौँ । कोरोनाभाइरस संक्रमित भएर निको भएकाहरुलाई प्रभावित पारिरहेको कालो ढुसी अर्थात ब्ल्याक फङ्गस नेपालमा पनि देखिएको छ। नेपालमा पनि पछिल्लो समय केही बिरामीहरुमा ब्ल्याक फङ्गस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मन्त्रालयले नेपालमा पनि कालो ढुसी देखा परेको जानकारीसहित यो संक्रमणबाट कसरी बच्ने, संक्रमित भइहालेमा यसको पहिचान कसरी गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा सुझाव पनि जारी गरेको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो सामाजिक संजाल पेजमार्फत यो संक्रमणबाट जोगिनको लागि जानकारीमूलक सामग्री सार्वजनिक गरेको हो।

Advertisement

मन्त्रालयले जारी गरेको जानकारी अनुसार कोभिड-१९ को उपचारको क्रममा स्टेरोइड प्रयोग गरेका बिरामीहरु, चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिहरुको जथाभावी प्रयोग गर्नेहरु र मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु ब्ल्याक फङ्गसबाट संक्रमित हुने उच्च जोखिममा हुन्छन्।

यो ढुसीको संक्रमण भएमा अनुहार, नाक, मुख, आँखा वरिपरी दुख्ने, ज्वरो आउने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, आँखाको ढकनी सुन्निे र ढकनी झुक्ने तथा आँखाले धमिलो देख्ने, नाकको वरिपरीको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाँक्लो सिंगान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले यो संक्रमणबाट जोगिनका लागि केही सावधानीका उपाय अपनाउन पनि सुझाव दिएको छ । सफा र सुख्खा मास्क प्रयोग गर्न, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्न,नियमित रुपमा हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ ।

यस्तै मन्त्रालयले व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरबाहिर वा फोहरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्न, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान, नुनिलो पानीले नाक सफा गर्न, पोभिडोल आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्न, मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्न र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि प्रयोग गर्न सुझाव दिएको छ ।

मन्त्रालयले यो कालो ढुसी अर्थात ब्ल्याक फङ्गस कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा नसर्ने समेत प्रष्ट पारेको छ।

कस्ता व्यक्तिलाई लाग्छ ब्ल्याक फङ्गस ?

म्यूकोर्माइकोसीस (Mucormycosis) नामक फंगाइका कारण हुन्छ । दीर्घरोगी तथा पुनः बिरामी भएका, शरीरको प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने औषधीहरु सेवन गरिरहेका, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई म्यूकोर्माइकोसीस तथा कालो ढुसी संक्रमण हुने डा बताउँछन् ।

कालो ढुसी शरीरको कुनै पनि हिस्सामा लाग्न सक्छ । कोरोना संक्रमितहरुले स्टेरोइड र टोसिलिजुमाव इन्जेक्सनको अत्याधिक मात्रा प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले संक्रमितमा कालो ढुसीपनि देखिएको उनले बताए । कोरोना संक्रमित त्यसमाथि मधुमेह भएका व्यक्तिलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

कोभिड बिरामीसँगै दीर्घरोगी जस्तै क्यान्सर, मृगौला, मुटु, अंग प्रत्यारोपण गर्ने, क्यान्सरको उपचार गराइरहेकाहरुमा फङ्गस अर्थात (कालो ढुसी) उच्च जोखिम रहेको छ। यो रोग कुनै पनि उमेर समूहका व्यक्तिका लागि जोखिम रहेको चिकित्समको भनाइ छ।

More News last news
Loading...