उठ्दा बस्दा घुँडा दुख्ने समस्या छ ? नगर्नुहोस् यस्ता गल्ती

काठमाडौँ । घुँडा गोडाको महत्वपूर्ण जोर्नी हो। उठबस र हिँडडुलमा घुँडाकै भूमिका ठूलो हुन्छ। घुँडाको जोर्नीमा समस्या भए शारीरिक गतिविधिमै अप्ठ्यारो निम्तिन्छ। यस्तो महत्वपूर्ण घुँडामा समस्या भए केही सजगता अपनाउन हाडजोर्नी विशेषज्ञ डा. मंगल रावलले सुझाब दिएका छन्।

१) घुँडाको जोर्नीमा समस्या छ भने घुँडा खुम्च्याएर बस्ने बानी बन्द नै गर्नुहोस्। घुँडा खुम्च्याएर बस्दा जोर्नीमा दबाब पर्ने र झनै समस्या बढ्ने हुन्छ। गोडा तेस्र्याएर तथा कुर्सीका पुट्ठो अड्याएर घुँडामा दबाब नपर्ने गरी बस्नुपर्छ।

Advertisement

२) घुँडाको जोर्नी खिइएका तथा दुख्ने समस्या भएकाहरूले पलेँटी कसेर पनि बस्नु हुँदैन । पलेँटी कसेर बस्दा एक-आपसमा हड्डीहरू खप्टिने, रगटिने हुन्छ । यसले समस्या झनै बढाउँदै लैजान्छ भने दैनिक गतिविधिमै अप्ठ्यारो पार्छ।

३) घुँडाको जोर्नीमा समस्या भएका व्यक्तिले उकालो–ओरालो गर्दा विशेष ध्यान दिनुपर्छ । घरको सिँढी चढ्दा या ओर्लिंदा पनि ध्यान पुर्‍याउनुपर्छ । सकेसम्म यस्तो उकालो–ओरालोमा कमै हिँड्नु राम्रो हुन्छ। हिँड्नैपर्दा घुँडाका हड्डीमा कम दबाब पर्ने गरी बिस्तारै हिँड्नुपर्छ ।

४) घुँडामा समस्या भए गह्रौँ भारी बोक्ने तथा भार उचाल्ने गल्ती गर्नु हुँदैन । यसले जोर्नीमा बढी दाबाब परेर झनै समस्या बढ्न थाल्छ । गह्रौँ सामान तथा भारी उचाल्नुपर्ने भयो भने सावधानीपूर्वक पहिले बसेर बिस्तारै–बिस्तारै उचाल्नुपर्छ ।

५) घुँडाको जोर्नीमा समस्या भएकाहरूले धेरै दौडिने र हिँड्ने गर्नु पनि राम्रो होइन। जोर्नीमा बढी दबाब निम्त्याउनु नै समस्या बढाउन मद्दत गर्नु हो । घुँडालाई हल्का कसरत र बढी आराम दिनुपर्छ ।

प्लस टिप्स
घुँडाको जोर्नीमा विभिन्न कारणले समस्या हुन सक्छ। हड्डी खिइएर, टुक्रिएर, चोटपटक लागेर मात्रै होइन, नसाका कारणले पनि जोर्नी दुखेको हुन सक्छ। घुँडाको जोर्नीमा के कारणले समस्या भएको हो, पहिले पहिचान गर्नुपर्छ।

चिकित्सकको सुझाबअनुसार औषधि सेवन गर्ने, समस्या कस्तो हो, त्यसैअनुसार व्यायाम तथा आराम ब्यालेन्समा गर्नुपर्छ।

जोर्नी पूरै खिइएर औषधिले पनि काम गर्न नसक्ने अवस्था पनि कतिपयको हुन सक्छ। जोर्नी नै फेर्नुपर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा चिकित्सककै परामर्शबाट आफूलाई सहज हुने उपाय अपनाउनु उत्तम हुन्छ।

More News last news
Loading...