काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदुषणमा अझै सुधार आउन सकेको छैन। प्रदुषणका कारण काठमाडौँ विश्वकै सर्वाधिक प्रदूषित शहरको सूचिको पहिलो स्थानमै यथावत रहेको छ।
आज बिहान नौ बजेको समयमा काठमाडौं शहरको एयर क्वालिटी इन्डेक्स ३३१ रहेको छ। यसअघि पनि तीन पटक काठमाडौं सर्वाधिक प्रदूषित शहरको सूचिमा रहेको थियो। वातावरण विभागको तथ्याङ्कअनुसार आइतवारदेखि देशका प्रमुख शहरमा वायु प्रदुषणको मात्रा बढेको छ।
आज बिहान सबैभन्दा धेरै वायु प्रदुषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ।
करिब २ सातादेखि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ। हिजो मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको थियो। हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरुको भनाई छ।
यसले दीर्घकालीन रोगहरु निम्त्याउन सक्ने जोखिम उच्च भएकाले अत्यावश्यक बाहेक घरबाहिर नसिस्कन चिकित्सकहरुको आग्रह छ। निस्कने परे पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
यसैबीच वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण काठमाडौंसहित देशका धेरै स्थानमा बिहान बेलुका चिसो बढ्न थालेको छ। तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको मौसम विद्हरुको भनाई छ।
चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो। प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेकोले प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने उनीहरुको भनाई छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
