काठमाडौँ । एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो । यो रोगले समयमा उपचार पाएन भने मान्छेको ज्यानै जान पनि सक्छ । एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा एपेन्डिसाइटिस हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ ।
एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो । सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ ।
एपेन्डिक्स एउटा पाइपजस्तो अङ्ग हो । यसको ल्युमेन बिस्तारै विभिन्न कारणहरुबाट बन्द हुन थाल्छ, र यो सुनिन्छ । सुन्निएपछि यसले एपेन्डिक्सको भित्तामा चाप दिन्छ ।
जुन चापका कारण भित्तमा रहेका रगतका नसाहरु बन्द हुँदै जान्छन् र पीप जम्न थाल्छ । यस्तो अवस्थामा पनि एपेन्डिक्सलाई अपरेशन गरी ननिकालिएमा यो फुट्न जान्छ,जसको कारण संक्रमण रगतको माध्यमबाट सम्पूर्ण शरीरमा फैलिएर मानिसको मृत्यु हुन्छ। एपेन्डिसाइटिस पश्चिमी मुलुकमा बढी देखिएको छ ।
यसको कारण पश्चिम देशहरुमा मासुको बढी प्रयोग हुन सक्ने वैज्ञानिकहरु बताउँछन्।वंशाणुगत रुपमा पनि एपेन्डिसाइटिस हुने सम्भावना बढी हुने गरेको पाइन्छ।
श्ररोगका लक्षणहरु देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ। यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ भने प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ।
लक्षणहरु
१) दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
२) उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ ।
३) साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ।
४) कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ।
५) कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ।
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । एपेन्डिसाइटिस पत्ता लगाउन अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन्।विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
