महाँकाल ट्याङ्कीबाट शुरु भयो मेलम्चीको पानी वितरण, आज यी स्थानका भाग्यमानीले भरे पानी

काठमाडौँ । काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरु भएको छ। आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरिएको हो।

सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ।

Advertisement

उक्त पानी आज दिउँसोबाटै चावहिल महाँकालचौर क्षेत्रमा वितरण गरिएको केयूकेएलले जनाएको छ ।

‘केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यका अनुसार, पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज दिनभरीमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा गरिएको छ।’

आज साँझसम्म काठमाडौँको मीनभवन, अनामनगर र खुमलटार, चाबहिल आसपासका नागरिकले घर घरमा मेलम्चीको पानी भरेका छन् । सोमबारबाट पुनः पानी दिने क्षेत्रहरु विस्तार हुँदै जाने छन् । खानेपानी आयोजनाले दुई सात्राभित्रै उपत्यकामा नयाँ पाइपलाइनबाट पानी वितरणको काम सुरु गर्ने जनाएको छ।

More News last news
Loading...