काठमाडौँमा होलीको बहानामा लापर्बाही गर्ने १ हजार १७३ सवारीमाथि कारवाही

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गरेर गाडी चलाउने ११ सय ७३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने ११ सय ७३ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Advertisement

यसमध्ये ३३ जनाले दिउँसै जाँडरक्सी खाएर गाडी चलाएका थिए । यस्तै ट्राफिक प्रहरीले चार सय ५८ वटा गाडीलाई सडकमै होल्ड गरेको छ । हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउने लगायत कसुरमा चार सय ४८ वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गाडीलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ठाउँठाउँमा प्रहरी परिचालन गरेर ट्राफिक जाँचलाई तीव्रता दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आइतबार (आज) उपत्यकाका नौ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ।

साथै कोरोनाको जोखिम बढेकाले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन र जनस्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरीले सम्झाइ–बुझाइ गराउने काम भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरी कार्यालयले जनाएको छ।

More News last news
Loading...