घरमै कसरी बनाउने स्वादिष्ट पिज्जा ? यसरी छ पाक विधि

काठमाडौँ । पिज्जा भन्नेबित्तिकै महँगो रेस्टुरेन्टको मेन्युमा हुने खानामध्ये एक हो भन्ने धेरैको दिमागमा आउँछ।यसको स्वादमा युवायुवती मात्रै होइन, वयस्क तथा वृद्धवृद्धा पनि लोभिने गरेका छन्।

स्वादिलो हुँदाहुँदै पनि सबै मानिस रेस्टुरेन्टमा गएर पिज्जा खान भने सक्दैनन्। कतिपयको समय नमिल्न सक्छ भने कतिपय महँगो हुने भएकाले रेस्टुरेन्ट जान सक्दैनन्।

Advertisement

उनीहरूमा घरैमा पनि पिज्जा बनाउन सकिन्छ कि सकिँदैन होला भन्ने प्रश्न रहिरहन्छ। यस्तै व्यक्तिलाई सहज होस् भनेर यहाँ घरैमा स्वादिलो पिज्जा बनाउने तरिका प्रस्तुत गरिएको छ।

पिज्जा शब्दको सुरुवात सन् ९९७ मा इटालीको दक्षिणी प्रान्तबाट सुरु भएको हो। त्यसवेला विभिन्न प्रकारका रोटीहरूमध्ये पिज्जालाई एक परिकारका रूपमा लिइन्थ्यो।

बिस्तारै यसमा समावेश गरिने अन्य खाद्यवस्तुबाट आधुनिक रूपमा बाहिर आउन थालेको इतिहास छ। पिज्जा इटालीको स्थानीय खानामध्येको एक परिकार हो, जुन दोस्रो विश्वयुद्धपछि संसारभर फैलिएको थियो।

बनाउने विधि
पिज्जा खासगरी गहुँको पिठो, गोलभेँडाको सस, पनिर, मसाला र अन्य सागसब्जी मिसाएर बनाइन्छ। स्वादका आधारमा यो विभिन्न किसिमको हुन्छ ।

डो
पिज्जाका लागि सबैभन्दा पहिले डो बनाउनुपर्छ । यसका लागि मात्रा मिलाएर गहुँको पिठो, पानी, चिनी, ओलिभ तेल राखेर राम्ररी मुछ्नुपर्छ। मुछ्नका लागि सजिलो बनाउन सानो–सानो डल्लो पार्न सकिन्छ। मुछिसकेपछि एकदेखि डेढ घन्टासम्म हावा नछिर्ने ठाउँमा राख्दा डो रोटी बनाउन तयार हुन्छ ।

सस
गोलभेँडाको सस बनाउन सबैभन्दा पहिले गोलभेँडालाई उसिनेर बाहिरको बोक्रा र बिज निकाल्नुपर्छ। यसलाई काटेर लेदो पार्नुपर्छ।

तताएको तेलमा अदुवा, प्याज, तेजपत्ता र सेलरी नामक हर्ब राखेर एकछिन चलाउनुपर्छ । यसमा एकदमै मसिनो गरी काटेको गाँजर पनि राख्न सकिन्छ। अन्तिममा अगाडि उसिनेर काटेको गोलभेँडा राख्नुपर्छ । यसमा नुन र मरिच राखेर पकाउनुपर्छ।

धेरै अमिलो भएमा अलिकति चिनी र धेरै गुलियो भएमा भिनेगर राख्न सकिन्छ । यसमाथि ओरिगानोको पात राखेर चलाउँदा छुट्टै खालको स्वाद बन्छ।

डोलाई बेलेर रोटी बनाउने र त्यसमाथि सस राख्नुपर्छ । त्यसमाथि ठीक मात्रा मिलाएर मोजरेला चिज राख्नुपर्छ। यसरी मार्गेरिटा पिज्जा बन्छ, जुन प्रमुख हो । यसमा मन पर्ने खानेकुरा राखेर ओभनमा राखेर पकाइन्छ।

पिज्जा विभिन्न किसिमको हुन्छ। आफ्नो इच्छाअनुसार मसरुम, चिकेन, अन्य सागसब्जी राखेर पिज्जा बनाउन सकिन्छ। यसका लागि पहिले चिज राखेर मार्गेरिटा पिज्जा तयार गर्नुपर्छ, त्यसपश्चात् मन पर्ने खानेकुरा मसिनो गरेर काटेर ओभनमा राख्दा पिज्जा तयार हुन्छ।

More News last news
Loading...