काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या सच्याएको छ। मृत्यु हुनेको संख्यामा बुधबार एकै दिन ६१९ जना थप गरिएको छ।
कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ। बुधबार भने कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा ३ हजार ६९२ जनाको नमुना परीक्षण गर्दा ३६ जना महिला र ५८ जना पुरुष गरी कुल ९४ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ७६० जना पुगेको छ। उनीहरु मध्ये २ लाख ७० हजार १३९ जना संक्रमणमुक्त भएका छन् भने कुल २६८४ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
