काठमाडौँ । नेपाल सरकार खानेपानी मन्त्रालय, काठमाडौं महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त प्रयासमा बिहीवारदेखि काठमाडौं वाटर एटिएम संञ्चालनमा आएको छ।
बिहीवार राजधानीमा भएको कार्यक्रमकाबीच खानेपानी मन्त्री मणिचन्द्र थापाले वाटर एटिएमको उद्घाटन गरेका हुन्।
पहिलो चरणमा रत्नपार्क, बालाजु र स्वयम्भू भगवान पाउमा वाटर एटिएम संञ्चालनमा आएको छ। वाटर एटिएम जडान भएसँगै यस क्षेत्रमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा उपलब्ध भएको छ।
वाटर एटिएमबाट उपलब्ध हुने पानीका लागि उपभोक्ताले प्रति २ सय मिलिमिटरका लागि १ रुपैया तिर्नुपर्नेछ । प्रति लिटर पानीको ५ रुपैयाँ तिर्नुपर्छ।
यो वाटर एटिएमलाई ३ महिनासम्म सप्लार्यसले नै सञ्चालन गर्ने र ३ महिनापछि बोर्डलाई हस्तान्तरण बताइएको छ। यस एटिएमबाट जाडोमा तातो र गर्मीमा चिसो पानी उपलब्ध गराउने प्रणाली जडान गरिएको छ।
एटिएमबाट पानी लिनका लागि उपभोक्ताले एक रुपैयाँको सिक्का प्रयोग गर्नुपर्ने छ। काठमाडौ उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीव बिक्रम रानाले ३ साताभित्र विभिन्न १५ वटा स्थानमा यस्ता एटिएम जडान गरिने जानकारी दिए।
काठमाडौँमा पिउने पानीको समस्या भईरहेका बेला सार्वजनिक स्थानमा राखिने वाटर एटिएमले आम सर्वसाधरणलाई सुलभ मूल्यमा स्वच्छ पानी पिउन सक्ने सुविधा दिने विश्वास महानगरले लिएको छ।
एक सातामा कलंकी, मालपोत, बानेश्वर, बंगलामुखी मन्दिर, कसुन्ती यातायात कार्यालय र शंखपार्क धुम्बाराहीमा सञ्चालन गर्ने तयारी गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा सञ्चालनमा ल्याईने वाटर एटिएमको लागत २ करोड रुपैया रहेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
