विप्लवसहित चार कम्युनिस्ट घटकको नयाँ मोर्चा, बिहीबार संयुक्त आन्दोलन घोषणा गर्दै

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) समूहको नेपाल कम्युनिस्ट पार्टी र अन्य तीन दलबीच मोर्चाबन्दी हुने भएको छ। भूमिगत र अर्धभूमिगत रुपमा रहेको विप्लव समूह अन्य तीन कम्युनिस्ट घटकसँग रणनीतिक मोर्चा बनाएर आक्रामक रुपमा आउन लागेको विप्लव निकट स्रोतले जनाएको छ ।

सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य (किरण)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) ले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच समाजवाद–जनगणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ रणनैतिक संयुक्त मोर्चा निर्माण भएको क्रान्तिकारी माओवादीका एक नेताले बताए ।

Advertisement

उक्त मोर्चाले माघ २९ गते (भोलि) प्रज्ञा भवन कमलादीमा कार्यक्रम गरेर आफ्ना भावी योजना, कार्यक्रम र अवधारणालाई सार्वजनिक गर्दैछ । श्रोतका अनुसार कार्यक्रममा मोर्चाले वर्तमान सरकार र राज्यव्यवस्थाका विरुद्ध श्रृंखलाबद्ध आन्दोलनको घोषणा पनि गर्दैछ।

चार पार्टीका शिर्षस्थ नेताहरुको बैठकले मोर्चाको सांगठानिक संरचना पनि टुंग्याएको बुझिएको छ। गत पुषमा पहिलो पटक चार पार्टीका मुख्य नेताले रणनैतिक संयुक्त मोर्चा बनाउने निर्णय गरेको एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका थिए।

विप्लवले नेतृत्व गरेको नेकपाका नेता धर्मेन्द्र बास्तोलाको गिरफ्तारीकाकारण मोर्चा घोषणाको कार्यक्रम ढिला हुन पुगेको बुझिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गतेपछि प्रतिगमन भयो भन्दै त्यसका विरुद्धमा संसद पुनस्थापना गर्ने र ओलीको कदम सही छ भन्दै दिनदिनै सहर र राजधानीमा भएका संसदीय पार्टीहरुको विकल्पमा जनवाद समाजवादको वैकल्पिक सरकार र सत्ताको नाराका साथ आन्दोलन गरिने भएकाले यो घोषणाले निराश र आक्रोषित जनतामा सकारात्मक प्रभाव पर्ने नयाँ मोर्चाको दावी छ ।

More News last news
Loading...