काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षले माघ ९ गते संसद् विघटन विरुद्ध काठमाडौँमा बृहत प्रदर्शन गर्ने भएको छ।
शनिबार बसेको केन्द्रीय संघर्ष, उपत्यका संघर्ष समिति, बाग्मती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले सो निर्णय गरको हो।
बैठकले प्रधानमन्त्रीद्वारा चालिएको प्रतिगामी, प्रतिक्रान्तिकारी तथा असंवैधानिक कदमका विरुद्ध अग्रगमन, लोकतन्त्र तथा संविधान र जनअधिकारको रक्षाका लागि यही माघ ९ गते राजधानी काठमाडौंमा बृहद तथा सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघरसंगठनलाई अपिल समेत गरेको छ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ।
त्यसैगरी, माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको छ।
बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको प्रचारका लागि माघ ७ गते अपरान्ह २ बजे काठमाडौं भृकुटी मण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल र्याली आयेजना गर्ने निर्णय गरेको छ।
बैठकमा पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता कमरेड झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकार र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिंगो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र शसक्त ढंगले तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
माघ ९ गते उपत्यकाका विभिन्न स्थानबाट जुलुशसहित अपरान्ह १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
