कारोना संक्रमणबाट विदेशमा थप १ नेपालीको मृत्यु

३९ हजार बढी संक्रमित निको

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो।

Advertisement

३९ हजार १ सय ७९ जना नेपाली कोरोनामुक्त

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको समितिले जनाएको छ।

यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हाल सम्म १९ देशका २ सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ।

यस्तै नेपालमा मात्र १ लाख ५५ हजार २ सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये १ लाख ८ हजार ३ सय ३४ जना कोरोना मुक्त भएका छन । यो कुल संक्रमितको ७० प्रतिशत हो।

शनिवार साँझसम्म नेपालमा ८ सय ४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन्।

मास्कको प्रयोग गरौं

मास्क्को प्रयोग गर्नाले सयौंको संख्या मानिसहरुको ज्यानबाट जोगिने गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

मास्कको प्रयोगका कारण संक्रमण बृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

संयोजक डा. सापकोटाका अनुसार अमेरिका, युरोपका देशहरुका गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निस्कर्ष निकालिएको छ ।

स्वास्थ्य समितिले सार्वजनिक स्थलमा निस्किदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउनसमेत अनुरोध गरेको छ ।

अलपत्र नेपालीहरुको उद्दार जारी

कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुको उद्दार जारी रहेको छ ।

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३२ देशका १ लाख २० हजार ८ सय २९ जना नेपालीहरुको उद्दार गरिएको छ।

More News last news
Loading...