सजिलै मोटोपन घटाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुहोस् (भिडियोसहित)

मोटोपनलाई समयमै व्यवस्थापन गर्न सकिएन भने मुटुरोग, मधुमेह, उच्च कोलेस्टेरोल कलेजोमा बोसो जम्ने र कलेजो खराब हुने, उच्च रक्तचापजस्ता विभिन्न प्राणघातक नसर्ने रोगदेखि विभिन्न खालका क्यान्सरसम्म हुन सक्छ। मोटोपन धेरै भएका व्यक्तिमा रक्तचाप, कोलेस्टेरोल, मधुमेहको मात्रा सामान्य स्तरमै छ भने पनि हृदयाघात हुने सम्भावना सामान्य व्यक्तिमा भन्दा २८ गुणा बढी हुने एक अध्ययनले देखाएको छ। औषधि वा शल्यक्रियाबाट भन्दा पनि खानपान र जीवनशैलीबाट तौल व्यवस्थापन गर्नु बढी बुद्धिमानी हुनेछ।

ब्रिटिस हार्ट फाउन्डेसनको एक अध्ययनअनुसार मोटोपन भएका व्यक्तिमा मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मुटु रोग, थाइराइड, महिलामा महिनावारीमा गडबढी, दम, पित्त थैलीसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्याका साथै मानसिक समस्या पनि धेरै पाइएको छ। थोरै मात्रामा तौल व्यवस्थापन गर्दा पनि धेरै हदसम्म यी समस्याबाट बचिने अध्ययनहरूले देखाएका छन्।

Advertisement

ठूलो आन्द्राको क्यान्सर, आन्द्रा तथा महिलामा स्तन क्यान्सरको खतरा र मिर्गौला खराबी गराउन पनि मोटोपनले भूमिका खेल्छ। केही अध्ययनले पित्तथैली, पाठेघर, प्यांक्रियाजको क्यान्सर पनि मोटोपनसँग सम्बन्धित भएको औंल्याएका छन्। पित्तथैलीको पत्थरी र अन्य रोग मोटा व्यक्तिमा बढी हुने पाइएको छ। मोटोपनले हाडजोर्नीसम्बन्धी विभिन्न खालका समस्या पनि निम्त्याउने गर्दछ। सुतेको समयमा एक्कासि श्वासप्रश्वास रोकिन गई ज्यान गुम्नुको एउटा मुख्य कारण मोटोपन पनि हो। यसलाई मेडिकल भाषामा स्लिप एप्निया भनिन्छ। मोटोपनले मानसिक रूपमा असहज महसुस गर्ने, शरीर दुखिरहनेजस्ता अनेकौं समस्या निम्त्याउन सक्छ।

उचित खानपान र जीवनशैली तौल ठीक राख्ने उचित उपाय हुन्। के खाने, कति खाने र कसरी खाने भन्नेले नै हाम्रो स्वास्थ्य निर्धारण गरिरहेको हुन्छ। आफ्नो शरीरलाई आवश्यक पर्नेजति क्यालोरी पाइने खाना खाने र शारीरिक रूपमा पनि त्यहीअनुसार सक्रिय हुने हो भने तौल सन्तुलनमा रहन्छ। तौल घटाउन वा बढाउनका लागि पनि त्यहीअनुसार क्यालोरी घटबढ गर्नुपर्छ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...