के तपाईहरु लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि गरिरहनुभएको छ भने आफूले पढेको र सफलता हासिल गरेको आधारमा केही सुझावहरु दिने प्रयास गरेको छु।
सरकारी जागिर खाने आफ्नो जीवनको अभिष्टलाई पूरा गर्ने हो भने लोकसेवाको परीक्षामा तपाईले केही मिहेनत र साधना गर्नैपर्ने हुन्छ । त्यसका लागि केही टिप्सहरु यस्ता छन्ः
कसरी पढ्ने ?
पहिले आफ्नो लक्ष किटान गर्नुहोस । लोकसेवा नै पास गरी सरकारी सेवामा छिरेर आफ्नो करियर बनाउने लक्षका साथ पढ्न थाल्नुहोस । एकैचोटी धैरै तिर हात नहाल्नुहोस।
कसैको दबाबमा नपढ्नुहोस । पढ्ने कुरालाई मन देखिनै जागृत गर्नुहोस । आफुलाई त पढ्न मन थिएन तर परिवार वा आफन्तको लागि पढिदिएको भन्ने लाग्छ भने यतातिर हात हालेर समय बर्बाद नगर्नुहोस ।
सधै सकरात्मक हुनुहोस । असफल हुँदैमा नआत्तिनुहोस । प्रयास गर्ने मान्छै नै असफल हुने हो भन्ने कुरा सोच्नुहोस । धेरैचोटी असफल भएर पनि पछि सफल भएका विश्वविख्यात व्याक्तिहरुको जीवनीलाई आत्मसात गर्नुहोस ।
पढेरमात्रै लोकसेवा पास गर्न सकिदैन । सबै कुरा मिल्नुपर्छ । पहिलोचोटि मै सफल नहुन पनि सकिन्छ । त्यसैले, धैर्यताको बाँधलाई टुट्न नदिनुहोस ।
पढ्दा कुनै एउटा पाठ्य सामाग्रीको मात्रै भर नपर्नुहोस । बजारमा गुणस्तरिय भन्दा पनि प्रचारमुखी सामाग्री बढि पाईन्छन् । त्यसैले पाठ्य सामाग्री चयन गर्दा सम्पर्ण पाठ्यक्रमलाई समेटेका गुणस्तरीय सामाग्री चयन गर्नुहोस।
सकेसम्म नोट बनाउने बानी बसाल्नुहोस। नोट बनाउदा धैरै सामाग्री हेरेर बनाईन्छ । जसबाट धेरै कुरा जान्ने मौका मिल्छ । परीक्षाको समयमा आफ्नै नोट पढ्नुहोस।
समसामयिक बिषयमा अपडेट हुनुहोस । समसामयिकको लागी छुट्टै नोट तयार गर्नुहोस । कम्तीमा पनि दिनको दुईवटा राष्ट्रिय स्तरको पत्रिका पढ्ने , राष्ट्रिय स्तरको रेडियोको समाचार सुन्ने, सरकारी निकायहरुले निकालेका प्रतिवेदनहरु हेर्ने बानी बसाल्नुहोस।
कोचिङ सेन्टरको मात्रै भर नपर्नुहोस । कोचिङ सेन्टर गाईडलाईन मात्रै हुन। त्यहाँ पढेको कुरो नै परीक्षामा आउँछ भन्ने हुँदैन । त्यसैले कम्तिमा एकचोटी कोचिङ गएर पढ्ने आधार बनाउनुहोस। तर सम्पूर्ण रुपमा भर नपर्नुहोस।
पढ्ने समयतालिका निर्धारण गर्नुहोस । निरन्तर नपढ्नुहोस । तर पढ्ने समयमा ध्यान केन्द्रित गरेर पढ्नुहोस । बुझेर पढ्नुहोस । पढेको कुरालाई सम्झने र विश्लेषण गर्ने गर्नुहोस । पढाईलाई बोझको रुपमा नलिनुहोस।
सबै विषयलाई उत्तिकै महत्व दिनुहोस । कहिलेकाहि आफूले आउँदैन होला भनेको कुरा नै परीक्षामा सोधिन सक्छ । त्यसैले पाठ्यक्रमलाई राम्ररी ख्याल गरी सबै कुरालाई अध्ययन गर्नुहोस।
आफ्नो परीक्षा आफै लिनुहोस । पुराना प्रश्नपत्र को हल निश्चित समय छुट्टाएर घरमै बसेर गर्नुहोस ।
मिल्छ भने टिम बनाएर कहिलेकाहि छलफल गर्नुहोस।
परीक्षामा कसरी लेख्ने ?
समय सिमित तर लेख्ने बिषय धेरै हुने हुँदा परीक्षामा समय व्यवस्थापन चुनौतीको रुपमा रहन्छ। कतिपय परीक्षार्थीहरुले उत्तर जान्दा जान्दै पनि समय व्यवस्थापन गर्न नसकि असफल भएको पाईन्छ। त्यसैले समयलाई ध्यान दिनुहोस र परीक्षा केन्द्रमा पनि समयमै पुग्नुहोस।
परीक्षा हलमा आफूलाई चाहिने सबै सामग्री लिएर जानुहोस । एकबोत्तल पानी पनि लिएर जानुहोस। अध्ययनले के देखाएको छ भने परीक्षा हलमा पानी लिएर जानेले अरुले भन्दा १० प्रतिशत राम्रो गर्न सक्छ।
जानेको कुरो सबै लेख्न नथाल्नुहोस। प्रश्नले सोधेको उत्तर छोटो तर तथ्य र तथ्याङ्क सहित सिलसिलाबद्ध रुपमा लेख्नुहोस । अनावश्यक गफ लेखेर समय खेर नफाल्नुहोस।
परीक्षा हलमा रहदा मनलाई सकरात्मक बनाउनुहोस। नआत्तिनुहोस । परीक्षाको सन्दर्भमा फैलाईका अनावश्यक हल्लाको पछि नलाग्नुहोस।
उत्तर लेख्दा प्रत्येक परीक्षार्थीको शैली फरक-फरक हुन सक्छ । त्यसैले कसले कस्तो लेख्यो भन्दापनि प्रश्नले के मागेको हो र आफुले के लेख्ने भन्ने कुरालाई ध्यान दिनुहोस । आवश्यकता अनुसार बुँदागत र व्याख्यात्मक दुबै रुपमा लेख्नुहोस।
उत्तरको सुरुवात र अन्त्य चोटिलो बनाउनुहोस । सुरुमै नकरात्मक उत्तर नलेख्नुहोस । र, निष्कर्ष लेख्दा पनि समस्याको पहिचानगर्दै समस्यालाई समधान गर्न कसले के गर्नुपर्ने हो त्यसलाई सकरात्मक रुपमा प्रस्तुत गर्नुहोस।
अन्तर्वाताको चरणमा के गर्ने, के नगर्ने ?
अन्तर्वाता, परीक्षार्थी र परीक्षक प्रत्यक्ष रुपमा भेटघाट हुने चरण हो । अन्तर्वाता दिनेको हाउभाउ, बोल्ने तरिका , पोषाक, उसको व्यवहार इत्यादीले अन्तर्वाता लिनेलाई प्रभावित तुल्लाउने हुँदा अन्तर्वाता दिनेले निम्न विषलाई ध्यान दिनु पर्छ ।
औपचारिक र सफा पोषाकमा उपस्थित हुनुहोस । उत्ताउलो र तडकभडक किसिमको पोषाक नलगाउनुहोस।
अन्तर्वाता लिने सबैलाई एकमुष्ट सम्बोधन गर्नुहोस । र, तोकिएको कुर्चीमा अनुशासन पूर्वक बस्नुहोस ।
अन्तर्वाता लिनेले परीक्षार्थीको मनोविज्ञान बुझ्न राम्रो विषयलाई पनि नराम्रो रुपमा प्रस्तुत गर्न सक्छ। त्यसैले सकरात्मक उत्तर दिनुहोस।
अन्तर्वाता दिदा नडराउनुहोस । निर्धक्क भएर प्रस्तुत हुनुहोस । आफ्नो विचारलाई निर्भिक रुपमा राख्नुहोस।
कतिपयले अन्तर्वाताको समयमा खुट्टा चलाउने, कपाल कनाउने, दाँत टोक्ने ईत्यादी गर्ने गरेको पाईन्छ। त्यस्तो काम कदापी नगर्नुहोस । अन्तर्वाताको वातावरणलाई रोमाञ्चित बनाउनुहोस । मुस्कुराएर उत्तर दिनुहोस । अन्तरवार्ता लिनेलाई सकरात्मक प्रभाव पार्नुहोस।
आफुले नजानेको विषयलाई जानेजस्तो गरेर नभन्नुहोस । नजानेको प्रश्नलाई निर्धक्क भएर आफूलाई सो प्रश्नको उत्तर नआउने बताउनुहोस । मैले यो विषयमा अध्ययन गरेको रहेनछु । अब म यो विषयमा जानकार रहेनछु भन्नुहोस ।
आफूले दिएको उत्तरको आधारमा अन्य प्रश्न पनि जोडिन सक्ने हुँदा आफुलाई सजिलो लाग्ने बिषय तिर अन्तर्वाता लाई मोड्नुहोस । उदाहरणको लागीः तपाईलाई के गर्न मन पर्छ ? भनेर सोधियो र तपाईले मलाई फूटबल खेल्न मन पर्छ भन्नुभयो भने तपाईलाई फूटबल सम्बन्धि अन्य धेरै प्रश्न सोधिन सक्छ । त्यसैले यस्तो विषयमा जानकार भएर जानुहोस ।
अन्तर्वाता दिन जादा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयीक घटनाक्रमको बारेमा बुझेर , अध्ययन गरेर जानुहोस।
अन्तर्वाता लिनेलाई अनुचित प्रभाव पार्न नखोज्नुहोस । मैले सोर्सफोर्स लगाएको छु , हजुरहरुले मलाई पास गराईदिनै पर्छ , तपाईहरुले कृपा गर्नु भयो भने सफल भईएला जस्ता कुरा नराख्नुहोस । योग्यता प्रणाली बमोजिम सफल हुनेछु। यदि सफल हुन सकिन भने पनि पुनः मेहनेत गरी सेवामा प्रवेश गर्नेछु भनेर अन्तर्वार्तालाई टुङ्गाउनुहोस।
(पराजुली शाखा अधिकृत हुन्)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
