काठमाडौं । हामीले समयअनुसारको मेकअप गर्न सकेमा सुन्दरसँगै स्वस्थसमेत रहन सकिन्छ । मौसमअनुसार छालाको प्रकृति पनि बदलिने भएकाले सुन्दरतामा ध्यान पुर्याउनु पर्ने हुन्छ । जुनै किसिमको छाला भए पनि गर्मीयाममा मेकअप गर्न अप्ठ्यारो हुन्छ । यो वेला धुवाँ–धुलो बढी हुने, पसिना धेरै आउने कारण छाला धेरै सुख्खा र तैलीय हुने हुन्छ । यसले मेकअपलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले, छाला र सुन्दरतामा असर नपर्नेगरी गर्मीमा मेकअप गर्ने तरिकाबारे यहाँ उल्लेख गरेका छौँ ।
– सुरुमा अनुहार सफा गर्नुपर्छ । यसमा फेसवास र नरम क्लिन्जिङ आदि प्रयोग गर्न सकिन्छ । मेकअपअघि अनुहार राम्ररी पखाल्न जरुरी हुन्छ ।
– गर्मीमा घामका किरण सीधै छालामा पर्छन् । यसले असर देखिन सक्छ । त्यसैले, मेकअपअघि मोस्चराइजर लगाउनुपर्छ । छालाको प्रकृतिअनुसार मेटिफाइङ प्राइमर अर्थात् आयल फ्री मोस्चराइजरको प्रयोग गर्नुपर्छ । यसो गर्दा छालाको तैलिय तत्व सुक्छ र मेकअप राम्रो देखिन्छ।
-छालामा मोस्चराइजरको प्रयोग गरेपछि केही समय खुला छोडिदिनुपर्छ । यसले छाला नरम बनाउन मद्दत गर्छ । त्यस्तै, घाममा हिँड्दा सनस्क्रिम पनि लगाउन सकिन्छ ।
– मोस्चराइजरपछि प्राइमर लगाउनुपर्छ । यसले छालालाई सुरक्षित बनाउनुका साथै मेकअपलाई समेत सुरक्षा दिन्छ । त्यसैले, गर्मीमा पनि मेकअप लामो समय कायम रहन्छ । प्राइमरको प्रयोग गर्दा हलुका हुने भएकाले प्राइमर लगाएको महसुससम्म हुँदैन ।
– गर्मीमा लिक्विड फाउन्डेसन उपयुक्त हुँदैन । तैलीय छालामा यो थोरै समय मात्रै टिक्ने भएकाले फाउन्डेसनको कवचको रूपमा क्रिम प्रयोग गर्न सकिन्छ । यसमा लुज पाउडर पनि लगाउन सकिन्छ । जसले गर्दा, फाउन्डेसन लामो समयसम्म टिक्ने र चिटिक्क देखिने हुन्छ । यद्यपि, काममा हिँड्ने हो भने फाउन्डेसनको प्रयोग नगरी हलुका मेकअप गर्दा राम्रो हुन्छ।
– गर्मी मौसममा गाजल, आइस्याडो, मस्कारा र लिपिस्टिक आदि वाटरपु्रफ र म्याट मात्र प्रयोग गर्नुपर्छ । यसो गर्दा, बाहिर हिँड्दा पसिना वा पानीका कारण बग्ने वा लतपतिने सम्भावना हुँदैन। यो वेला सकेसम्म हलुका मेकअप गर्न आवश्यक हुन्छ। रङको छनोट गर्दा पनि सकेसम्म फिका रङ छान्नु उपयुक्त हुन्छ।
– आँखामा आइलाइनरको प्रयोग गर्न सकिन्छ । त्यस्तै, हुलका गुलाबी र सुन्तला रङको चमकरहित आइस्याडो लगाउँदा राम्रो देखिन्छ। विशेषगरी, साँझ र रातको पार्टीमा चमक भएको आइस्याडो लगाउन सकिन्छ । तर, दिउसो रंगीन मेकअप अनावश्यक देखिन सक्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
