कतिपय महिलाको अनुहार उनीहरूको शरीरको तुलनामा ज्यादै मोटो देखिन्छ। जसले गर्दा सामान्य मेकअप तथा ड्रेसअप मात्र गर्दा असुहाउँदो देखिन सक्छ । मोटो अनुहारको मेकअपमा ध्यान नदिँदा भद्दा देखिने सम्भावना पनि बढी हुन्छ। यस्तो समस्या हुने अधिकांश महिलाले घरेलु विधि अपनाउने गर्छन्। तर, यस्तो विधिले सधैँ काम गर्छ भन्ने हुँदैन। विभिन्न घरेलु उपायले पनि समस्या समाधान भएन भने ब्युटिसियनकै भर पर्नुपर्ने हुन्छ। अनुहारको आकार तथा मोटाइअनुसार फरक तरिकाको मेकअप गरेर यस्तो समस्यालाई कम गर्न सकिन्छ । मोटो अनुहार हुने महिलाले मेकअप गरेर स्लिम लुक्स देखाउन सकिन्छ । स्लिम लुक्स देखाउन अपनाउनुपर्ने केमअप टिप्सबारे ब्युटिसियन बिन्दिया श्रेष्ठका सुझाब यस्ता छन्ः
डार्क फाउन्डेसन
मोटो अनुहार भएका महिलाले डार्क फाउन्डेसनको मद्दतले आफ्नो मुहार स्लिम देखाउन सक्छन् । यसका लागि निधार, गालाको माथिल्लो भाग र चिउँडोमा हलुका फाउन्डेसन लगाउनुपर्छ । त्यस्तै, अनुहार छुट्याउने साइडको च्यापुको माथिल्लो भागमा डार्क फाउन्डेसन लगाउनुपर्छ । यसले अनुहार केही पातलो देखाउन सहयोग गर्छ ।
कन्ट्रोलिङ
अनुहार स्लिम देखाउन सेपको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले केही समय लाग्ने भए पनि अनुहारमा फाउन्डेसन लगाएपछि आँखा, गाला तथा ओठको मेकअप गर्नुअघि कन्ट्रोलिङ ब्रसको मद्दतले यसलाई मुहारमा लगाउनुपर्छ । आफ्नो स्किन टोनअनुसार दुई या तीन सेड डार्क फाउन्डेसन लगाउनुपर्छ ।
हाइलाइटर
मोटो अनुहारलाई स्लिम दखाउने सबैभन्दा उपयुक्त विकल्प हो, हाइलाइटर । यसका लागि आफ्नो अनुहार तथा गालाको भागलाई विशेष ध्यान दिनुपर्छ । हाइलाइटर भने अनुहारको बीच भागमा लगाउनुपर्छ । आइब्रोको बीच भागबाट लगाउँदै तलतिर लगाउनुपर्छ । त्यस्तै, नाक तथा माथिल्लो ओठको माथिबाट नाकसम्मको भागमा लगाउँदा राम्रो हुन्छ ।
कपालको सहायता
बाटुलो मुहार भएका महिलाले हेयर स्टाइलमा परिवर्तन गरेर पनि आफ्नो अनुहार पातलो देखाउन सक्छन् । विज्ञको सल्लाहअनुसार अनुहार सुहाउँदो हेयर कट गरेर या हेयर कलर गरेर स्लिम लुक्स दिन सकिन्छ ।
आँखाको मेकअप
अनुहारलाई स्लिम तथा आकर्षक देखाउन आँखाको मुख्य भूमिका हुन्छ । आँखालाई आकर्षक र ड्रामेटिक इफेक्ट दिनका लािग आइस्याडोको मद्दत लिन सकिन्छ । त्यसका लागि बाहिरी भागमा पातलो आइलाइनर लगाउनुपर्छ । यसरी आइलाइनर बाहिरी भागबाट बिस्तारै भित्री भागतिर लगाउनुपर्छ । यसलाई फिनिसिङ दिन डबल सेड मस्कारा पनि लगाउनु राम्रो हुन्छ ।
सिमर
बाटुलो मुहारलाई पातलो देखाउन सिमरको पनि प्रयोग गर्न सकिन्छ । यसलाई अनुहारको कलरअनुसार गाला तथा चिउँडोमा लगाउन सकिन्छ । यसले छालाको बनावटलाई हाइलाइट गरिदिन्छ । जसले गर्दा अनुहारको लुक्स केही स्लिम देखिन्छ । आवश्यकताअनुसार यसलाई पाउडर या क्रिमको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
