क्यान्सर शरीरको जनुसुकै अंगमा पनि हुन सक्छ। जनुसुकै उमेरका मानिसमा पनि हुन सक्छ। यसैले यस रोग बारे सधै सचेत रहन जरुरी छ। खानपानमा ध्यान दिएमात्रै पनि यसबाट जोगिन सकिन्छ।
विश्व क्यान्सर अनुसन्धान कोषले क्यान्सरबाट जोगिन सन्तुलित आहार सम्बन्धी सुझाव दिएको छ। जसको अनुसरण गरेमा ३० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ। सन्तुलित खाना र सक्रिय जीवनशैलीद्वारा ३० देखि ७० प्रतिशत क्यान्सरको खतराबाट जोगिन सकिन्छ।
-वनस्पति स्रोतमा आधारित खाना– ताजा हरियो सागपात, फलफुल र गेडागुडी खाने ।
-दिनमा कमसेकम ४ सयदेखि ८ सय ग्राम वा सम्पूर्ण खानाको आधा वा आधाभन्दा बढी तरकारी र फलफूल नियमित खाने ।
-व्यवसाय वा काम शारीरिक परिश्रम गर्ने नभए कम्तिमा १ घण्टा दैनिक पैदल हिँड्ने र हप्तामा एक पटक थाक्ने खालको व्यायाम गर्ने ।
-मोटोपन घटाउन सन्तुलित खाना र शारीरिक क्रियाकलाप महत्वपूर्ण हुने हुँदा खाना र व्यायाममा ध्यान दिने ।
-मद्यपान स्वास्थ्यका लागि हानिकारक भएको हुनाले मद्यपान नगर्ने तर मद्यपान गर्नुपर्ने परिस्थिति भएमा पुरुषहरुले दैनिक अधिकतम दुई पेग र महिलाहरुले दैनिक एक पेगभन्दा बढी नखाने ।
-दिनमा कमसेकम ६ सयदेखि ८ सय ग्राम अन्न खाने र चिनी कम खाने ।
-सबै प्रकारका खानामा नुनको मात्रा कम गर्ने र नुन थपेर नखाने ।
-नियमित मासु खाने व्यक्तिले दैनिक ८० ग्रामभन्दा बढी नखाने र बोसो भएको मासु नखाने ।
-घ्यु बोसो धेरै मात्रामा उपभोग नगर्ने र चिल्लो पदार्थका लागि वनस्पति तेलको प्रयोग गर्ने ।
-लामो समयदेखि उचित भण्डार नगरेमा वा राम्ररी सुकाएर राखेमा ढुसी पर्ने सम्भावना रहने हुँदा ढुसी परेका खानेकुरा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यस्तो खाना नखाने।
-आगोमा डढाएको खानेकुरा जस्तो कि सेकुवा, पोलेको मासु, डढेको कुनै खाद्यपदार्थ आदि नखाने।
-खाना भण्डार गर्दा, बनाउँदा वा अन्य अवस्थामा प्रयोग गरिने रासायनिक पदार्थ, औषधी, रंगको जथाभावी प्रयोग नगर्ने र उचित तापक्रम र स्थानमा मात्र खाद्यपदार्थ भण्डार गर्ने।
-सूर्तीजन्य पदार्थको सेवनबाट कहिल्यै स्वस्थ जीवन प्राप्त हुन नसक्ने हुँदा यसबाट टाढा रहने।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
