सुन्दर मुहार चाहने अधिकांशले बिहान मुख धुने, क्रिम तथा लोसन लगाउने काम गर्छन् । तर, अनुहारको केयर बिहान मात्र गरेर सुन्दरता प्राप्त गर्न सकिन्छ भन्ने धारणा गलत हो। आफ्नो मुहार हरेक समय ताजा तथा चम्किलो बनाउने चाहना छ भने रातको समयमा पनि केयर गर्नुपर्ने हुन्छ । राति सुत्नुअघि थोरै मात्र मिहिनेत गरेर बिहान अनुहारलाई स्फूर्त, चम्किलो तथा सुन्दर बनाउन सकिन्छ। जसरी दिनभर काम गरेपछि हाम्रो शरीरलाई आराम तथा केयरको आवश्यकता पर्छ।
त्यसैगरी, हाम्रो मुहारको पनि केही आवश्यकता हुन्छ । त्यस्तो आवश्यकतालाई कुनै पनि कारणले पूरा गर्न सक्ने हो भने अनुहारमा छुट्टै किसिमको आभा प्राप्त गर्न सक्छौँ । अनुहारको आवश्यकतालाई पूर्ति गर्न सकिएमा लामो समयसम्म मुहारमा ताजापन तथा चमक कायम रहन्छ । अन्यथा, बुढ्यौलीको लक्षण समयभन्दा धेरै पहिला आउन सक्छ । त्यसका लागि सुत्नुभन्दा अघि अनुहारको केयर गर्ने तरिकाबारे ब्युटिसियन अर्बिना श्रेष्ठका सुुझाब यस्ता छन्ः
१. यदि दिउँसो मेकअप गरेर बस्नुभएको छ भने राति सुत्नुअघि कुनै पनि हालतमा मेकअप पखाल्नुपर्छ । कुनै गुणस्तरीय लोसन, मेकअप रिमुभर तथा तेलले मेकअप सफा गर्नु उत्तम हुन्छ ।
२. दिनभरको धुवाँ, फोहोर, धुलो, मैलो सफा गरेर मात्र सुत्नुपर्छ । त्यसका लागि हरेक दिन फेसवासले मुख धुन बिर्सनु हुँदैन ।
३. अनुहारको सफाइका लागि स्क्रबको पनि त्यतिकै महत्व हुन्छ । तर, हरेक दिन स्क्रब नगर्नु राम्रो हुन्छ । हप्तामा दुई या तीन दिन सुत्नुअघि स्क्रब गर्दा अनुहार सफा र चम्किलो हुन्छ ।
४. फेसप्याक लगाउनु पनि आवश्यक नै हुन्छ । नेचुरल फेसमास्क लगाउन सकेमा झन् उत्तम हुन्छ । अन्यथा, आफ्नो स्किल टाइपअनुसार बजारमा पाइने गुणस्तरीय फेसप्याक खरिद गरेर लगाउँदा फाइदा हुन्छ ।
५. अनुहारमा टोनिङ गर्नुको फाइदा भनेको छाला कसिलो बनाउनु हो । जसले गर्दा छालालाई चाउरीपन तथा खुकुलो हुन दिँदैन।
६. अनुहारको सुन्दरता कायम राख्न पोषणको त्यतिकै आवश्यकता हुन्छ । त्यसैले प्रोटिनयुक्त लोसन प्रयोग गर्नु फाइदाजनक हुन्छ।
७. विशेषगरी, चिसो मौसममा सुत्नुअघि समय मिलाएर अनुहारमा मोस्चराइजर लगाउनु बिर्सनु हुँदैन । यसले छालालाई फुस्रो तथा सुक्खा हुन दिँदैन।
अर्बिना श्रेष्ठ ब्युटिसियन, साज ब्युटी होम्स
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
