बीबीसी । सिङ्गापुरमा गरिएको एउटा अनुसन्धानले हप्तामा दुई चोटिभन्दा बढी च्याउ खाए त्यसले ६० वर्षमाथिका व्यक्तिमा स्मृति र भाषासँग सम्बन्धित समस्याहरू हुन नदिने देखाएको छ।
च्याउमा हुने एउटा विशेष एन्टिअक्सिडन्टले मस्तिष्कमा सुरक्षात्मक प्रभाव पार्ने सो अध्ययनले पत्ता लगाएको छ। मानिसहरूले जति धेरै च्याउ खाए उनीहरूले सोच्ने र मानसिक प्रक्रियासम्बन्धी जाँचमा उति धेरै परिणाम प्राप्त गरे। तर अनुसन्धानकर्ताहरूले च्याउ र मस्तिष्कको कार्यबीच कुनै सोझो सम्बन्ध छ भनेर प्रमाणित गर्न भने सम्भव नभएको बताएका छन्।
न्याश्नल युनिभर्सिटी अफ सिङ्गापुरमा भएको सो अध्ययनमा ६६३ जना ६० वर्षमाथिका चिनियाँ मूलका मानिस समाविष्ट थिए। सन् २०११ देखि २०१७ सम्म उनीहरूको आहार र विहारको अध्ययन गरिएको थियो। छ वर्षभन्दा बढी समय लगाएर गरिएको सो अध्ययनमा अनुसन्धानकर्ताहरूले च्याउ खाँदा कग्नटिभ इम्पेअर्मन्ट (सिक्न र तर्क गर्न सक्ने क्षमतामा क्षय) हुने सम्भावना घट्ने पत्ता लगाएका थिए।
दुई चोटिभन्दा बढी च्याउ खानेमध्ये सयमा झन्डै नौ जनामा मात्र त्यस्तो समस्या भएको देखियो। तर हप्तामा एक चोटिभन्दा कम खानेमध्ये सयमा १९ जनामा त्यो समस्या भएको देखियो।
माइल्ड कग्नटिभ इम्पेअर्मन्ट (एमसीआई) भनिने मध्यम खालको संज्ञानात्मक क्षय हुँदा मानिसहरू बिर्सिन थाल्छन्। यसले उनीहरूमा स्मृति एवम् भाषासम्बन्धी समस्या हुन्छ तथा उनीहरूलाई केही कुरामा ध्यान दिन वा कुनै वस्तु पत्ता लगाउन गाह्रो हुन्छ।
तर यी परिवर्तनहरू थोरै मात्रामा भएका हुन सक्छन्। डिमेन्श अर्थात् विस्मृति भनिहाल्नेगरी यी परिवर्तनहरू गम्भीर भने हुँदैनन्। अध्ययनमा सहभागी भएका व्यक्तिलाई उनीहरूले विभिन्न छ प्रकारका च्याउहरू, ओइस्टर, शिटाके, ह्वाइट बटन, ड्राइड, गोल्डन र टिन्ड, कति चोटि खाए भनेर सोधिएको थियो।
च्याउ खानहरूले मस्तिष्कसम्बन्धी जाँचमा राम्रो परिणाम ल्याए। उनीहरूको मानसिक प्रक्रियाको गति पनि छिटो भएको पत्ता लाग्यो। अनि यस्तो परिणाम विशेष गरेर हप्तामा दुई चोटिभन्दा बढी अर्थात् कुल तीन सय ग्राम च्याउ खानेहरूमा पाइएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
