कांग्रेस कोषाध्यक्ष भेला : गुट अन्त्य गर्न सामूहिक दबाब दिइने

काठमाडौँ । कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई सामूहिक दबाब दिने भएका छन्।

नुवाकोटमा चैत ७ र ८ मा हुने जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलामा कांग्रेस शुद्धीकरणका लागि भन्दै उनीहरूले शीर्ष नेतृत्वबाट आ-आफ्नो स्वार्थसिद्धिका लागि खोलिएका गुट अन्त्य गर्न दबाब कार्यक्रम बनाएका हुन्।

Advertisement

सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य खुमबहादुर खडका, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरूलाई गुट अन्त्यका लागि सामूहिक दबाब दिने तयारी कोषाध्यक्षहरूको छ।

यी सबै नेताले पार्टीभित्र आ-आफ्ना गुट सञ्चालन गर्दै आएका छन्। भेलामा शीर्ष नेतृत्वसहित पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरूलाई समेत आमन्त्रण गरिएको छ।

‘निर्वाचनमा पार्टी पराजय हुनुको मुख्य कारण नै पार्टीभित्र अस्वस्थ ढंगले मौलाएको गुटतन्त्र हो भन्ने हाम्रो ठहर छ,’ कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने, ‘यसको अन्त्य नगरी पार्टी अघि बढ्न सक्दैन।’

कांग्रेस नेता अर्जुननरसिंह केसीले भेलामा नेतृत्वको कमीकमजोरीबारे निर्मम समीक्षा गर्न सुझाए। ‘तीनै तहका निर्वाचनमा पार्टीले नराम्रो पराजय भोग्दा पनि साढे तीन महिनासम्म पार्टीभित्र आन्तरिक समीक्षा नहुनु लज्जाको विषय हो,’ केसीले भने, ‘गुट, उपगुटको अन्त्यभन्दा पनि पार्टीलाई हुकुमी र हैकमवादी शैलीबाट नभएर संस्थागत र विधिसम्मत रूपमा सञ्चालन गर्न दबाब दिनुपर्ने अवस्था छ।’

निर्वाचनपछि पार्टीभित्र चर्केको आन्तरिक कलहको प्रभाव कोषाध्यक्ष भेलामा समेत देखिने भएको छ। पार्टीका युवा नेताहरूले कोषाध्यक्ष भेलामा आ–आफ्नो एजेन्डालाई प्रवेश गराउन ‘लबिइङ’ थालेका छन्। केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सुदृढीकरणका लागि आफूहरूले थालेको अभियानको आवाज कोषाध्यक्ष भेलामा प्रकट हुने बताए।

‘अहिलेकै नेतृत्वले यो पार्टीलाई अब अघि बढाउन सक्दैन,’ उनले भने, ‘पार्टीभित्र आमूल परिवर्तन आवश्यक छ। त्यो भनेको नीति, कार्यक्रम मात्रै नभई नेतृत्व परिवर्तन पनि हो।’

भण्डारीले पार्टीभित्र चलेका गुट स्वार्थ र अवसरका लागि मात्रै रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए। ‘योग्यता र क्षमताका आधारमा अवसर दिने पद्धति नबस्दासम्म यो स्वार्थ गुटको अन्त्य हुँदैन,’ उनले भने, ‘गुटगत राजनीति अन्त्य गर्न पार्टी पुरानो ढर्राबाट चलाएर हुँदैन।’

पार्टीका धेरैजसो जिल्ला कार्यसमितिले निर्वाचनमा पराजय हुनुमा पार्टीभित्र अस्वस्थ ढंगमा मौलाएको गुटतन्त्रलाई कारण ठान्दै केन्द्रमा प्रतिवेदन बुझाएका छन्। त्यही प्रतिवेदनलाई आधार मान्दै कोषाध्यक्षहरूले राष्ट्रिय सम्मेलनमा गुट अन्त्य गर्न सामूहिक दबाबको कार्यक्रम बनाएका हुन्।
(कान्तिपुर दैनिक)

More News last news
Loading...