इण्डोनेसियाली युवतीको हत्या प्रकरणमा नेपाली युवा पनि मुछिए

मलेसिया । इण्डोनेसियाली महिलाको हत्या गरेको आशंकामा एक नेपाली युवा मलेसियाली प्रहरीको खोजी सूचीमा छन्। प्रहरीले २७ बर्षीय नेपाली युवा सदीप गुरुङको खोजी गरिरहेको छ।

त्यहाँको बायान लापासस्थित एक फ्याक्ट्रीमा कार्यरत उनी हाल फरार रहेको जनाइएको छ। २५ बर्षीय शान्ति रेस्तौली सिम्बोलानलाई हत्या गरेको आशंकमा प्रहरीले सदीपलाई खोजी गरिरहेको स्थानीय संचारमाध्यमहरुले जनाएको छ।

Advertisement

उनको प्रेमिका रहेकी भनिएकी शान्तिको शव बिहीबार पेनाङको आयर इतामस्थित ग्रीन गार्डेन अपार्टमेन्टको एक फ्ल्याटस्थित सदीप बस्दै आएको कोठामा भेटिएपछि उक्त तथ्य बाहिर आएको हो।

प्रहरीले शान्तिको शव सोही फ्ल्याटको कोठाभित्र रहको दराजभित्र ताल्चा लगाएर राखिएको अवस्थामा फेला पारेको थियो। उनको करिब तीन दिन अघि नै मृत्यु भएको हुनसक्ने आशंका प्रहरीको छ।

उक्त फ्ल्याटमा बस्दै आएका अन्य दुई नेपाली युवाहरुले सदीपको कोठाबाट केही ‘नराम्रो गन्ध’ आएको भन्दै गत बिहीबार राती १० बजे प्रहरीलाई खबर गरेका थिए। समाचार अनुसार प्रहरीले उनीहरुलाई पनि अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शान्तिले केही साताअघि इण्डोनेसिया फर्केर अर्कै युवासंग बिहे गर्ने बताएपछि सदीपले उनको हत्या गरेको हुनसक्ने आशंका छ।

हाल पेनाङस्थित प्रहरीले सदीपको फोटो सार्वजनिक गर्दै उनीबारे जानकारी पाएमा आफुलाई सम्पर्क गर्नसमेत अनुरोध गरेको छ। सदीपबारे थप जानकारी खुलाइएको छैन।
(कान्तिपुर दैनिक)

More News last news
Loading...