उमेरअनुसार शरीरका विभिन्न अंगले विशेष काम गरिरहेका हुन्छन् । उमेर बढेसँगै विभिन्न अंगको पनि विकास हुँदै जान्छ र सोहीअनुसार काम गर्न थाल्छ । महिलामा हुने महिनावारीको हकमा पनि यो लागू हुन्छ । खासगरी किशोर अवस्थामा महिलामा महिनावारी सुरु हुन्छ । जुन एक–एक महिनाको अवधिमा हुने गर्छ । नियमित महिनावारी स्वस्थ शरीरको सूचकांक पनि हो । तर, प्रौढ अवस्थामा महिनावारी बन्द हुन्छ । जसका कारण महिलाले बच्चा जन्माउन पनि अक्षम हुन्छन् । महिनावारी सुक्ने कारण र त्यसले निम्त्याउने परिणामबारे नयाँ पत्रिकामा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। भोला रिजालले यस्तो लेखेका छन् ।
यसरी सुक्छ
महिनावारी सुक्नु महिलामा आउने सामान्य परिवर्तन हो । सामान्यतया ४०–४५ वर्षको उमेर पार गरिसकेपछि महिनावारी सुक्ने हुन्छ । उमेर बढ्दै जाँदा अण्डाशयमा डिम्बको संख्या घट्दै जान्छ र रित्तिन्छ । डिम्ब रित्तिएपछि अण्डाशयबाट अण्ड निस्कन बन्द हुन्छ । फलस्वरूप रजोनिवृत्ति हुन्छ । ४० वर्षको उमेर पार गरिसकेका महिलामा यस्ता डिम्बको संख्या न्यून हुन्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा महिनावारी अनियमित हुन थाल्छ र बिस्तारै सुकेर जान्छ ।
सुक्ने समय समस्या
महिनावारी सुक्ने समय महिनावारी गडबड हुन्छ । यस्तो गडबडी महिनावारी सुक्नुभन्दा तीनदेखि पाँच वर्षपहिलेबाट नै सुरु हुन्छ । यस्तो वेला महिलामा कमजोर भएको अनुभूति हुनुका साथै अन्य समस्या पनि देखिन्छन्, जस्तै स् थकाइ लाग्ने, शरीर तात्ने, पोल्ने, औडाहा हुने, पसिना आउने, रातमा निद्रा नपर्ने, कोही मानिस बोल्दा झन्झट लाग्ने, चिडचिडापन हुने आदि । कतिपयलाई त डिप्रेसनको समस्यासमेत देखिन सक्छ ।
डा भोला रिजाल
यति मात्र नभएर महिनावारी सुकेका महिलामा हाडजोर्नी खिइने समस्या बढी हुन्छ । त्यस्तै ढाड, जोर्नी दुख्ने, मेरुदण्डको हाड खिइएर नसा च्यापिनेजस्ता समस्या पनि निम्तिन्छ । जसका कारण हातगोडा झमझमाउनेलगायतका समस्या देखिन थाल्छन् ।
महिनावारी सुक्ने समय योनि सुक्खा हुने, योनिको बाहिरी भाग चिलाउने र पोल्ने हुन सक्छ । महिनावारी सुकेपछि यौनेच्छा पनि कम भएर जान्छ । सुक्खा हुने कारण महिनावारीपछि शारीरिक सम्पर्क गर्दा योनिमा दुखाइ हुन्छ ।
महिनावारी सुकेपछि पिसाब तथा हाडजोर्नीसम्बन्धी समस्या बढेर जान्छ । हाडजोर्नी खिइएमा नियमित योग, व्यायाम तथा फिजियोथेरापी गरेर यसको समाधान गर्न सकिन्छ ।
हाडजोर्नी र पिसाबसम्बन्धी समस्या बढेर जाने भए तापनि अन्य समस्यामा भने बिस्तारै सुधार हुँदै जान्छ । व्यवस्थित जीवनशैली अपनाएर कतिपय समस्याको समाधान गर्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
