काठमाडौँ । अहिलेको संसद्मा पुराना दुई अनुभवी राजनीतिज्ञ छैनन्। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई संसद्मा ‘मिस’ गरिएको छ।
बिजुक्छे पाँचपटक सांसद भए, सरकारमा कहिल्यै सहभागी भएनन्।
केसी सामान्य जीवनशैली र सत्तापक्षमाथिको खरो प्रस्तुतिका कारण अघिल्ला संसद्मा चर्चामा रहन्थे। यसअघिको केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए।
जसको दल सकियो तर पद जोगियो
एक–दुई सिट हुँदा पनि अघिल्ला संसद्मा केही चल्तीका सांसदको तत्कालीन पार्टी अस्तित्वविहीन बने पनि आफ्नो पद जोगाएका छन्। ठूला पार्टीमा प्रवेश गरेर उनीहरू अहिले पनि सांसद बनेका छन्।
अखण्ड नेपाल पार्टी गठन गरेर दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका कुमार खड्का प्रचण्ड नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्रीसमेत बने। यसपटकको निर्वाचनमा थ्रेसहोल्ड लागू भएपछि निर्वाचनअघि नै उनी कांग्रेस छिरे र आमन्त्रित केन्द्रीय सदस्य बने । अहिले प्रदेश ४ को सांसद पनि छन्। संसदीय दलको नेतामा दाबेदारी गरिरहेका छन्।
सद्भावना आनन्दीदेवीका तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सांसद सरिता गिरी बाबुराम भट्टराई नेतृत्वको सरकारमा श्रममन्त्री बनिन्, तर बर्खास्तीमा परिन्। आनन्दीदेवीपछि श्यामसुन्दर गुप्तासँगै पार्टीमा सक्रिय रहिन्।
गुप्तासँग पनि विवाद भएपछि उनले नेपाल सद्भावना पार्टी गठन गरिन्। दोस्रो संविधानसभामा चुनाव पनि लडिन्, तर जितिनन्। ०७१ फागुनमा अनिल झाको संघीय सद्भावना पार्टीसँग एकता गरेर सह–अध्यक्ष भइन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
