रिजन नेपाल
पोखरा । कास्कीमा २१ जनामा डेङ्गुको संक्रमण भेटिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. खिमबहादुर खड्काका अनुसार गत वर्षझैं यस वर्ष पनि पोखरामा डेंगु रोग भेटिएको हो । उनका अनुसार हालसम्म २१ जनामा यो रोगको संक्रमण भएको र उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा वडा ८ मा सबैभन्दा बढी ८ जना संक्रमित छन् । वडा ९ का ५ जना छन् भने वडा ४, १०, १७ र २५ मा एक÷एक जना नागरिकमा सो रोग देखिएको छ । त्यसैगरी, तनहुँमा १, स्याङ्जामा १ र पोखरामा बसोबास गर्ने धरानका २ जना नागरिकमा यो रोग देखा परेको छ। डेङ्गुको संक्रमण बढेपछि प्रदेश स्वास्थ्य निर्देशनालयले यसको नियन्त्रणका लागि पहल थाल्ने जनाएको छ।
पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडा कार्यालयले नै विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब लगायतका प्रतिनिधिलाई बोलाएर यसबारे सचेतना कार्यक्रम गरेकोे बताए । उनका अनुसार वडाले रोग लाग्नबाट बँच्न अपनाउनुपर्ने सावधानी लगायतबारे माइकिङ गर्नुका साथै वडावासीलाई पर्चा–पम्प्लेट वितरण गरेको छ ।
यस्तै ठाउँ ठाउँमा सचेतनामूलक व्यानर राखिएको छ। पोखराको शिवालयचोकमा भएको सचेतनामूलक कार्यक्रममा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकी डा. मधुमाया तिमिल्सिनाले डेंगु रोग, यसको मुख्य लक्षण, उपचार, बँच्ने उपाय लगायतबारे जानकारी दिएकी थिइन्।
चिकित्सकका अनुसार डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । यो एडिस लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधैँ सर्दैन बरु लामखुट्टेले सफा पानी जमेका स–साना स्थानमा फुल पार्ने गर्दछ । वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका ड्रम, फूलदानी, गमला, कुलर, पानीका टंकी लगायतमा यसले फुल पार्दछ । वर्षाको महिनासँगै जताजतै पानी जम्ने भएकोले यो रोगको प्रकोप बढ्ने गरेको पाइन्छ।
यसका मुख्य लक्षणमा आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकटी दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, जोनी, हड्डी तथा मांशपेसीहरु दुख्ने, उच्च ज्वरोसँगै ती लक्षण देखा परेमा यो रोग लागेको आशंका गरिन्छ । साथै वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिंजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत रहेको चक्का (नीलडाम) देखा पर्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्न सक्ने जनाइएको छ ।
डेंगु ज्वरो विषाणुको कारणबाट हुने भएकोले यसको खास उपचार छैन र डेंगु ज्वरोविरुद्ध खोप समेत उपलब्ध छैन । स्वास्थ्य संस्थामा यसको लक्षणअनुसार उपचार गर्ने गरिन्छ ।
रोग लाग्नबाट जोगिन लामखुट्टेको टोकाइबाट बँच्ने, त्यसको लागि पूरा बाहुला भएको शरीर ढाक्ने कपडा लगाउने, टोकाइबाट बँच्ने मल्हम लगाउने, घर वरिपरि पुराना भाँडामा पानी जम्न नदिने, जमिहाले हप्तामा २ पटक पानी वरिपरि मोबिल वा मट्टितेल छर्किने, खानेपानीका टंकीलाई पनि लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने गर्नुपर्दछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
