अलमल र द्विविधामा नपरी वडा अधिवेशनमा जुट्न सभापति थापाको अपिल

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहबाट सुरु हुने अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपिल गरेका छन्।

सभापति थापाले बुधबार अपिल जारी गर्दै २०८३ असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै पनि प्रकारको अलमल र द्विविधामा नपरी उत्साह, एकता र जिम्मेवारीबोधका साथ सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ। त्यसको प्रारम्भिक प्रक्रियाका रूपमा वडा तहबाट अधिवेशन सुरु हुन लागेको हो।

Advertisement

थापाले वडा अधिवेशनलाई पार्टी संगठनलाई थप सुदृढ बनाउने, नेतृत्व चयन गर्ने तथा कांग्रेसको लोकतान्त्रिक अभ्यासलाई वडा तहसम्म मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा उल्लेख गरेका छन्।

उनले पार्टीको विधान, निर्धारित प्रक्रिया र लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै आपसी सद्भाव, सहकार्य र एकताका साथ अधिवेशनमा सहभागी हुन सम्पूर्ण कांग्रेसजनसँग आग्रह गरेका छन्। ‘अधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, नेपाली कांग्रेसको संगठनलाई थप गतिशील, अनुशासित र जनमुखी बनाउने महत्वपूर्ण अभियान पनि हो,’ सभापति थापाको अपिलमा भनिएको छ।

वडा तहको अधिवेशनमा स्याङ्जाका प्रत्येक क्रियाशील सदस्यको सक्रिय सहभागिता र योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै थापाले संगठनात्मक लोकतन्त्रलाई थप सुदृढ बनाउन सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

More News last news
Loading...